विसं २०६६ जेठ २८ गते केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा विकास गर्ने भन्दै औपचारिक शिलान्यास गरिएको हेटौँडा–६ स्थित गौरीटार रंगशाला निर्माण पूरा हुन सकेको छैन । ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिष्ठानको शिलान्यास गरेका थिए । झण्डै ५ अर्ब खर्च गरेर धेरै खेलहरुको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालनयोग्य रंगशाला निर्माणमा भने सुचारु हुन सकेन । शिलान्यास भएको करिब एक दशकसम्म पनि रंगशालामा घेराबार लगाउने र होस्टल बनाउने काममात्र भयो । खेल अभ्यास, प्रशिक्षण तथा प्रतियोगिताको लागि संरचना बनाउन सरकारले खासै ध्यान दिन नसकेको अवस्थामा बागमती प्रदेश सरकारले रंगशाला निर्माणमा चासो देखायो । प्रदेश गौरवको योजनाअन्तर्गत राखेर बागमती प्रदेश सरकारले २०७५ सालबाट रंगशालामा खेल पूर्वाधार निर्माण सुरु गरेको भए पनि कामको गति भने निकै सुस्त रहेको छ ।
७ वर्षको अवधिमा बागमती प्रदेशमा ६ जना मुख्यमन्त्री परिवर्तन भइसके पनि गौरीटार रंगशाला निर्माणको कामले पूर्णता पाउन सकेको छैन । शुक्रबारमात्रै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको गौरवको रुपमा गौरीटार रंगशालालाई अघि बढाउन प्रदेश सरकारले १ अर्बभन्दा बढी लगानी गर्ने बताएका छन् । हेटौँडामा सुरु भएको दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गौरीटार रंगशालालाई गौरवको अयोजनाको रुपमा अघि बढाउन लागिएको जानकारी दिए । यसअघि केही करोडमात्र लगानी गरेकोमा अब रंगशालामा ट्रयाक, खेलमैदान, स्विमिङ पुल, हेल्थ क्लब, ब्याटमिन्टन, बास्केटबल, क्रिकेटलगायतका अधिकांश खेल पूर्वाधार निर्माण गरिने बताएका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नसक्ने गरी सुविधासम्पन्न पूर्वाधार निर्माण गर्ने मुख्यमन्त्री बानियाँको भनाइ छ ।
मकवानपुरबासीले गौरीटार रंगशालाको सपना देख्न थालेको चार दशकभन्दा बढी भइसकेको छ । विसं २०४० सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गरिएको गौरीटार रंगशाला लामो समयसम्म झाडीयुक्त मैदानमा सीमित रह्यो । त्यतिबेलै सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरिएको भए पनि लामो समयसम्म रंगशाला निर्माण कार्य सुरु हुन नै सकेन । केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा गौरीटार रंगशाला निर्माण गर्न संघीय सरकारले आवश्यक बजेट र ध्यान दिएन । बागमती प्रदेश सरकारले रंगशाला निर्माणमा चासो दिएपछि अहिले रंगशालामा फुटबल, क्रिकेट र पौडी खेलका पूर्वाधार निर्माण भइरहेको छ । एक प्यारापिटसहितको फुटबल मैदान निर्माण भइसकेको छ भने अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी र क्रिकेट मैदान निर्माण भइरहेको छ ।
प्रदेश सरकारले पछिल्लो ७ वर्षमा करिब २० करोड रुपैयाँ लगानी गरिसकेको अवस्थामा रंगशलालाई पूर्णता दिन ठूलै लगानी आवश्यक छ । मुख्यमन्त्री बानियाँले भनेजस्तो एक अरब नै खर्च गर्ने हो भने र निर्माण कार्य समयमै सम्पन्न गर्ने हो भने व्यवस्थित रंगशालाको सपना साकार हुनसक्छ । गौरवका आयोजना भन्ने कामको गति भने अहिलेको जस्तै सुस्त हुने हो भने रंगशाला निर्माण सम्पन्न हुन दशकौँ लाग्ने निश्चित छ । बागमती प्रदेश सरकारले यसअघि नै डीपीआर तयार गरेर रंगशाला निर्माणको काम गरिरहेको भए पनि पर्याप्त बजेट व्यवस्थापन गर्न सकेको छैन । बागमतीका प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलकै कार्यकालमा प्रदेश गौरवको आयोजनाको रुपमा अघि बढेको रंगशालाको निर्माण कार्य भने गतिविहीनजस्तै बन्यो । वर्तमान मुख्यमन्त्री बानियाँले रंगशालाका लागि आवश्यक बजेट दिएर कामलाई तिब्रता दिन सकेमा रंगशालाले पूर्णता पाउने आशा गर्न सकिन्छ ।











