Home मुख्य समाचार निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर, २९३ जना लाभान्वित

निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर, २९३ जना लाभान्वित

शिविरमा एक स्थानीयको स्वास्थ्य परीक्षण गरिँदै ।

निबुवाटार : भीमफेदी गाउँपालिका–४, निबुवाटारमा शनिबार निशूल्क स्वास्थ्य शिविर भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा निबुवाटार स्वास्थ्य चौकीको आयोजनामा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको हो । हर्ट फाउन्डेसन मकवानपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुस्वास्थ्य विशेषज्ञ डा. मनोज कुमार श्रेष्ठ लगायतको टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा २ सय ९३ जना स्थानीयले स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणका क्रममा ५ जनामा मुटुको गम्भीर समस्या देखिएको थियो भने एक जनालाई तत्काल शल्यक्रियाका लागि सिफारिस गरिएको छ । महिलाहरूको भी.आई.ए. परीक्षण गर्दा ४ जना महिलामा पहिलो चरणको पाठेघरको क्यान्सर लक्षण देखिएको छ । शिविरमा ५४ जनाले दाँतसम्बन्धी उपचार तथा परामर्श प्राप्त गरे ।

कार्यक्रमका बारेमा जानकारी दिनुहुँदै वडा अध्यक्ष सागर पाण्डेले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन वडाको बजेट मार्फत कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यमा हुन सक्ने समस्याको समयमै पहिचान गरी उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क जाँच, सुगर, प्रेसर र परामर्श सेवा पाएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन् ।

Exit mobile version