हेटौँडा : हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत छात्रा सुमि थिङको मुक्तक संग्रह ‘जीवनको गोरेटो’ लोकार्पण गरिएको छ । हेटौँडा–४ स्थित साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा मुक्तक संग्रह लोकार्पण गरिएको हो ।
नवसर्जक साहित्य चौतारीको आयोजनामा भएको कार्यक्रममा सुमिको पहिलो कृतिको रुपमा उक्त मुक्तक संग्रह लोकार्पण गरिएको हो । नवसर्जक साहित्य चौतारीकी महासचिव स्वस्तिका दाहालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका १ नम्बर वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा लोकार्पित कृतिमाथि साहित्यकारहरु सानुबाबु खनाल र विविशा रुम्बाले विमर्श गर्नुभएको थियो । उहाँहरुले सुमिको कृतिको सवल तथा दूर्वल पक्षबारे छलफल गर्दै सुझाव समेत प्रस्तुत गर्नुभएको छ ।
२०६८ मंसिर २६ गते मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा जन्मनुभएकी सुमिले स्थानीय पत्रिकामा पनि नियमित लेख्ने गर्नुभएको छ । नवसर्जक साहित्य चौतारीले प्रकाशन गरेको मुक्तक संग्रहमा ८१ वटा मुक्तक समावेश भएको कृतिमा समाज, जीवन र मानवीय अनुभुतिहरुका विभिन्न पक्षहरुलाई निकै प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ । तीन वर्षअघिदेखि नै कविता हुँदै मुक्तक लेख्न थालेकी सुमि हाल नवसर्जक साहित्य चौतारी बागमती प्रदेशको सदस्य समेत हुनुहुन्छ । मुक्तक संग्रह लोकार्पण कार्यक्रममा नवसर्जक तथा विभिन्न साहित्यकारहरुले मुक्तक तथा रचना वाचन समेत गरिएको थियो ।
कार्यक्रममा नवसर्जक साहित्य चौतारीका परिकल्पनाकार तथा संरक्षक दीपक गौतम, अग्रज साहित्यकार देवराज खरेल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, अमर माविकी प्रधानाध्यापक मालती उप्रेती, सहायक प्रधानाध्यापक तथा साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको पनि सहभागिता रहेको थियो ।
