Home मुख्य समाचार निर्वाचनमा सहज वातावरण : पर्यवेक्षक

निर्वाचनमा सहज वातावरण : पर्यवेक्षक

बैठकको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अघिल्ला निर्वाचनहरु भन्दा सहज वातावरणमा सम्पन्न भएको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार हेटौँडामा आयोजित निर्वाचन पर्यवेक्षक संस्थाहरुका प्रतिनिधि, सञ्चारकर्मी तथा राष्ट्रिय मानवअधिकार आयोगबीच भएको निर्वाचन समीक्षा बैठकमा अघिल्ला निर्वाचनमा भन्दा अधिकांश उम्मेदवारहरुले कम खर्च र शान्त वातावरणमा निर्वाचन सम्पन्न गरेको उल्लेख गरिएको हो ।

बैठकमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईंले विद्यालयमा निर्वाचन नगराउन कतिपय क्षेत्रबाट सल्लाह सुझाव आएको भए पनि स्थान अभावले विद्यालयमै निर्वाचन सम्पन्न गर्न बाध्यता परेको बताउनुभयो । आगामी दिनमा यसको विकल्पको खोजी गरी व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विद्यालयपछि स्वास्थ्य संस्थाहरुमा पनि केही निर्वाचन केन्द्रहरु तोकिएकोले झनै अव्यवस्थित देखिएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले अघिल्ला निर्वाचनमा भन्दा चुनाव खर्च कम गरेको, नागरिक सरकार भएका कारण दबाबरहित र भयरहित रुपमा निर्वाचन सम्पन्न भएको निष्कर्ष निकालेका छन् । यस्तै, सम्पन्न निर्वाचनमा मत बदर धेरै भएकोले मतदाता शिक्षामा कमी भएको र समानुपातिक उम्मेदवारलाई चुनावी प्रचारमा असहज वातावरण देखिएकोले अब आउने निर्वाचनमा सुधार गर्नुपर्ने सुझावसमेत दिइएको छ । कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, मानव अधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठलगायत निर्वाचन पर्यवेक्षणमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।

बैठकले सुर्खेतकी इनिशा बिकको बलात्कारपश्चात हत्या भएको घटनाप्रति खेद व्यक्त गर्दै सो विषयमा मकवानपुरका विभिन्न निकायहरुमा ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । समाजमा बलात्कारका घटना घट्नुको सट्टा बढ्दै गएको पाइएकोले अबको कार्यक्रममा महिलालक्षित भन्दा पनि पारिवारिकरुपमा वा किशोरहरुलाई नैतिक शिक्षाको आवश्यक देखिएको पनि सहभागीहरुले जनाएका छन् ।

Exit mobile version