Home खेलकुद प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरको दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरको दोस्रो जित

हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट खेलमा मकवानपुरले लगातार दोस्रो जित दर्ता गरेको छ । बिहिबार नुवाकोटलाई २ सय ७९ रनको विशाल अन्तरले पराजित गरेको मकवानपुरले शुक्रबार त्रिभुवन विश्वविद्यालयको टिमलाई ९ विकेटले सहजै जितेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको त्रिभुवन विश्वविद्यालयको टिमले कमजोर व्याटिङ गर्दै ३५ ओभर ३ बलमा सवै विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाएको थियो । त्रिभुवन विश्वविद्यालयका लागि सुरज तिरुवाले अविजित रहँदै ९६ रनको योगदान गरे पनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । त्रिभुवन विश्वविद्यालयको टिमलाई कडा चुनौति दिँदै मकवानपुरका शुभ कंसाकार र मोहम्मद अहमद राजाले ३–३ विकेट लिए भने साकार गजुरेलले २ विकेट लिए ।

झिनो लक्ष्यसहित जवाफी व्याटिङ गरेको मकवानपुरले १४ दशमलव ५ ओभरमा एक विकेटको क्षतिमा १३८ रन बनाउँदै सहज जित दर्ता गर्‍यो । मकवानपुरका लागि अविजित रहँदै युविन बुढाथोकीले ४९ र कप्तान सुमन सुनारले ३६ रन बनाए । शुभ कंसाकार ३४ रन बनाएका थिए । म्यान अफ द म्याच कंसाकार नै घोषित भए । पहिलो २ खेलमा हार व्यहोरेको मकवानपुरले पछिल्लो २ खेल जित्दै ४ अंक जोड्न सफल भएको छ ।

Exit mobile version