हेटौँडा : चितवन जिल्लाको कालिका–९ दब्यटारमा अटो अनियन्त्रीभई दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा भित्री सडकखण्डमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिँदा ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका ४ जनालाई साँझ ६ बजेर २० मिनेटको समयमा भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा डाक्टरहरूले मृत घोषणा गरेका छन् । मृत्यु हुनेमा अटो चालक चितवनको राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विक, राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णु कुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ, र ५५ वर्षीया तिलक तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनी कुमारी गुरुङको मध्यम घाइते भएकी छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
