Home Uncategorized एमाले अध्यक्ष पोखरेलद्वारा राजीनामा

एमाले अध्यक्ष पोखरेलद्वारा राजीनामा

नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

हेटौँडा : नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षा आवश्यक रहेको उल्लेख गर्दै उहाँले आइतबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्नुभएको हो ।

पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले समस्याको कारण नखोजी गोलमटोल भाषामा प्रतिक्रिया दिने तथा इष्र्या र घमण्डपूर्ण प्रवृत्तिले पार्टीलाई सही दिशामा लैजान नसक्ने उल्लेख गर्नुभएको छ ।

पोखरेलले पार्टी नेतृत्वलाई समेत आत्मसमिक्षा गर्न आग्रह गर्दै आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि बाटो खोल्नुपर्ने बताउनुभएको छ ।

‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन । त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो ।’ उहाँले लेख्नुभएको छ, ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिव लगाएत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिदै पार्टी पुनरगठनका लागि नेतृत्वका बाटो प्रशस्त गर्नु पर्दछ । आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ । यसै सन्दर्भमा, आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’

Exit mobile version