हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) विजयी भएका छन् । शनिबार साँझ सम्पन्न मतगणनाअनुसार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै बालेन विजयी भएका हुन् ।
रास्वपाले प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका बालेनले ६८ हजार ३४८ मतसहित विजयी भएका हुन् । ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरे । ओली ४९ हजार ६१४ मतान्तरसहित पराजित भएका हुन् । निर्वाचित भएसँगै निर्वाचन अधिकृतले बालेनलाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ कै प्रमुख क्षेत्रको रुपमा झापा–५ लाई हेरिएको छ ।
संसदीय निर्वाचनमा हालसम्ममा सबैभन्दा बढी मतसहित निर्वाचित हुने प्रतिनिधिसभा सदस्यको रुपमा बालेन रहनेछन् । शनिबार साँझसम्म प्रत्यक्षतर्फ ६३ सिट जितेको रास्वपा थप ५८ सिटमा अगाडि रहेको थियो । प्रत्यक्षतर्फ १ सय २० सिट भन्दा बढी जित्ने देखिएको रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेनको विजय महत्वपूर्ण नतिजा हो । २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्वारको रुपमा विजयी बालेन त्यसयता निरन्तर चर्चामा छन् ।











