हेटौँडा : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आईतबार मकवानपुरमा कविता प्रतियोगिता हुँदैछ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
संघकी अध्यक्ष कल्पना श्रेष्ठका अनुसार प्रतियोगिताका लागि कूल १८ वटा कविता प्राप्त भएका छन् । प्राप्त कविताहरूमध्ये पहिलो चरणको मूल्याङ्कनबाट १० वटा कविताहरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उत्कृष्ट १० मा छनोट हुनेहरुमा रमिला सापकोटा, डिबी बर्तौला, गीता कुमारी पौडेल, सम्झना पण्डित र समीक्षा तिमल्सिना रहेका छन् । यसैगरी सन्देश परियार, अचला शर्मा, भगवती पुडासैनी, युवराज तिमल्सिना र मेनुका दहाल छनोट भएका छन् । यी १० जना कविहरूले आईतबार आयोजना हुने कार्यक्रममा आ–आफ्ना कविता वाचन गर्नेछन् ।
प्रतियोगितामा ‘सहयोग, समर्थन, योगदानमार्फत महिलाहरुको अधिकार’ विषयमा आधारित भएर १५० शब्द नबढ्ने गरी कविता लेख्न संघले सूचना जारी गरेको थियो । प्रतियोगितामा संघका सदस्य सहकारी संस्थाका कार्यसमिति, पूर्वसमिति तथा कर्मचारीहरु सहभागिता हुन पाउने व्यवस्था छ । प्रतियोगितामा प्रथम हुनेले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार र सान्त्वना स्थान हासिल गर्ने २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रममा संघले तनाव व्यवस्थापन कार्यशाला पनि आयोजना गर्ने जनाएको छ । तनाव व्यवस्थापन कार्यशालामा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुनेछ भने कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधीवक्ता अप्सरा बस्नेतको प्रमुख आतिथ्य रहनेछ ।











