राजनीतिलाई जनसेवा भन्ने गरिन्छ । राजनीति समाजसेवा हो । राज्यको नीतिलाई राजनीति भन्ने गरिए पनि कुनै पनि देशको व्यवस्था र अन्य राष्ट्रसँग कूटनीतिक सम्बन्ध ठिक राख्ने सरकारको नीति वा व्यवहारगत व्यवस्थालाई राजनीति भन्ने गरिएको छ । नीति निर्माणको वैधानिक अंग पनि राजनीति हो ।
राजनीतिक व्यवस्था सञ्चालन गर्ने काम राजनीतिक दलले गर्दछ । राजनीतिक दलको सिद्धान्त र व्यवहार भन्दा पनि दलको नेतृत्व राजनीतिमा हावी हुँदा राजनीतिप्रति नै वितृष्णा बढेको आभाष हुने गरेको छ । आवश्यकता भन्दा बढी राजनीतिक दलहरु सक्रिय रहनु, राजनीतिक नेतृत्व देश र जनताप्रति भन्दा सत्ता र स्वार्थप्रति केन्द्रित हुनुले राजनीतिमा विकृति देखिने गरेको हो । नेपालको सन्दर्भमा राजनीतिमा सैद्धान्तिक दृष्टिकोण, नेतृत्वको इमान्दारिता र प्रभावकारिता केही छैन । निर्वाचनको समयमा विभिन्न स्टन्टबाजी गरेर मतदातालाई प्रभावित पार्दै सत्ता र शक्तिमा पुग्ने माध्यम राजनीति बनिरहेको छ । मतदाताको बाध्यता र कमजोरीमा टेकेर आश्वासन बाँड्दै निर्वाचन अघि भोट माग्ने र निर्वाचन पछि बेखबर हुने समस्याले मुलुकको राजनीतिलाई नराम्ररी गाँजेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ५ दिन बाँकी छ । यतिखेर निर्वाचन प्रचारप्रसारको उत्तराद्र्ध अवस्था छ । निर्वाचनमा सबैजसो राजनीतिक दल तथा उम्मेदवारले मतदातालाई प्रभावित पार्न अनेकौँ आश्वासन दिने गर्दछन् । निर्वाचनमा विजयी वा पराजयी जे भए पनि त्यसपछि गायबजस्तै हुन्छन् । निर्वाचनको समयमा गाउँबस्ती डुलेर अनेकौँ स्टन्टबाजी गर्दै मतदातालाई भोटबैँकको रुपमा प्रयोग गर्ने परिपाटीले नेपालीलाई दिक्दार बनाइसकेको छ । हेटौँडा बजार नजिकै रहेको सिमलटारका भूमिहीन सुकुम्बासीहरुले पनि हरेक चुनावमा जग्गाधनी पूर्जाको आश्वासन प्राप्त गर्दछन् । चुनावैपिच्छे दल र उम्मेदवारहरुले जग्गधानी पूर्जा (लालपूर्जा) उपलब्ध गराउने आश्वासन दिन्छन् । चुनाव आउँछ जान्छ तर, उनीहरुको हातमा न लालपूर्जा हुन्छ, न बसिरहेको थात्थलोको भोगाधिकार ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, सिमलटार सबैभन्दा धेरै घरधुरी भएको टोल विकास संस्था हो । जहाँ २ हजार ३ सय बढी घरधुरी छ । तर, यहाँका बासिन्दासँग आफू बसोबास गर्दै आएको जग्गाको लालपूर्जा छैन । उनीहरुको यो समस्या अहिलेको होइन, दशकौँदेखि यो समस्या भोग्दै आएका उनीहरुको समस्या समाधान उन्मुख देखिँदैन । पक्की सडक, खानेपानी, बिजुली र ढल निकास सबै सुविधा पुगेको सिमलटारमा लालपूर्जा नहुँदा स्थानीय ढुक्क हुन सकेका छैनन् । निर्वाचनको समयमा भोट माग्न आउने सबै उम्मेदवारलाई सिमलटारबासीको पहिलो प्रश्न हुन्छ– ‘हाम्रो लालपूर्जा खोइ ?’ २ हजार ३ सयभन्दा बढी घरधुरी रहेको यस क्षेत्रलाई उम्मेदवारले ‘भोटबैँक’ सुरक्षित राख्न आश्वासन दिएर भोटको राजनीति गर्न भने छाडेका छैनन् ।
हरेक निर्वाचनमा आफूलाई भोट दिएर जिताए लालपूर्जा पाइन्छ भन्दै उम्मेदवारले आश्वासनमात्रै दिने गरेका छन् । यसपटक पनि सिमलटारबासीले सबैजसो राजनीतिक दलका उम्मेदवारलाई लालपूर्जाको ग्यारेन्टी माग गरेपछि सबैले लालपूर्जा दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिमलटारमात्र होइन हरेक गाउँबस्तीका कुनै न कुनै समस्या हुन्छन् । ती समस्या निर्वाचनको समयमा उम्मेदवारलाई सुनाइन्छ । उम्मेदवारहरुले पनि भोटको राजनीति गर्दै जहाँ जे समस्या छ त्यो पूरा गर्ने आश्वासन दिन्छन् । विजयी भएपछि आफूले गर्न सक्ने वा नसक्ने भन्दा पनि भोटबैँक सुरक्षित राख्न उम्मेदवारले सहजै प्रतिबद्धता र आश्वासन व्यक्त गर्दछन् । यस्तो भोटको राजनीति कायम रहँदासम्म सिमलटारमात्र होइन सबैतिरका जनता आश्वासनमै बाँच्नुपर्ने बाध्यता रहन्छ ।
