हेटौँडा : मकवानपुर जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयका विद्यार्थी शुभम खनाल र अञ्जली कुमारी प्रथम भएका छन् । शनिबार विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा सम्पन्न माध्यमिक तह (कक्षा १०) स्तरीय प्रतियोगितामा शुभम र अञ्जलीको समूह प्रथम भएको हो ।
प्रतियोगितामा कैलाश–९, नामटारस्थित कालिका माध्यमिक विद्यालयका विकास परियार र कृष्टिना हिम्डुङको समूह द्वितीय भएको छ । यस्तै हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतन माध्यमिक विद्यालयका एलेस घिमिरे र रिषभ सुवेदी तृतीय भएका छन् । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाका १९ वटा र जिल्लाका अन्य पालिकाबाट ६ वटा गरी जम्मा २५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । एसईई दिने विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएकोले प्रत्येक विद्यालयबाट कक्षा १० मा अध्ययनरत दुई जना विद्यार्थीको सहभागीता रहेको थियो ।
प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । सहभागी टोलीहरू मध्ये पहिलो चरणमा उत्कृष्ट ८ वटा समूह छनोट गरी दोस्रो चरण खेलाइएको थियो । पहिलो चरण उत्कृष्ट टिम छनोट गर्दा हेटौँडा उपमहानगरपालिकाभित्रका ५ वटा र अन्य पालिकाबाट ३ वटा टिम छनोट गरिएको थियो । प्रतियोगितामा विज्ञान विषयको एसईईमा सहयोग पुग्ने गरी प्रश्नहरु सोधिएको थियो । प्रतियोगितामा प्रथम हुने विद्यालयले ४ हजार, द्वितीयले ३ हजार र तृतीयले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् भने पहिलो चरणमा छनोट भएका टिमहरुले १/१ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विज्ञान शिक्षक समाज नेपाल (स्टान) मकवानपुरका अध्यक्ष भरत पोख्रेलको सभाध्यक्षतामा भएको कार्यक्रमा हेटौँडा–१० का वडाध्यक्ष फुर्वा दार्जे लामाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा स्टान बागमती प्रदेश कमिटीका उपाध्यक्ष खेमराज लामिछानेको विशिष्ट आतिथ्य रहेको थियो । प्रतियोगितामा हेटौँडा १० नम्बर वडा कार्यालयको पनि सहयोग रहेको थियो ।
