हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा ह्याकाथन ‘एनिग्मा’ प्रतियोगिता सुरु भएको छ । एआईमार्फत शिक्षामा रूपान्तरण भन्ने मुल नाराका साथ सोमबारदेखि प्रतियोगिता सुरु भएको कलेजको सार्वजनिक सूचना अधिकारी सजना शर्माले जानकारी दिनुभयो ।

नवोदय इनोभेसन सेन्टरको प्रायोजनमा सञ्चालित प्रतियोगिताको आयोजना कलेजको सूचना प्रविधि विभाग र विद्यार्थी विकास केन्द्रले गरेको हो । कलेजमा स्नातक तह तेस्रो र चौथो वर्षमा अध्ययनरत ८० जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका छन् । सहभागी विद्यार्थीहरूलाई १६ वटा समूहमा विभाजन गरिएको छ । बुधबारसम्म चल्ने यस प्रतियोगितामा सहभागीहरुले मेन्टरसिप (परामर्श), अवधारणा विकास, प्रोटोटाइप निर्माण र अन्तिम प्रस्तुतिकरण गर्नेछन् ।

प्रतियोगिताको अन्तिम दिन बुधबार सहभागीहरूले तयार पारेका परियोजनाहरूको प्रदर्शन र निर्णायक मण्डलद्वारा मूल्याङ्कन गरिनेछ । प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने समूहहरुका लागि क्रमशः २५ हजार, १५ हजार र १० नगदसहित अन्य पुरस्कारको व्यवस्था गरिएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । सहभागीहरूले तीन दिनसम्म शिक्षा क्षेत्रलाई आधुनिक बनाउन आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नवीन समाधानहरू विकास गर्ने प्रतियोगिताको उद्देश्य रहेको छ ।

‘एनिग्मा’ले प्रविधिमैत्री शिक्षालाई अगाडि बढाउन र विद्यार्थीहरूलाई नवीनतामार्फत वास्तविक संसारका चुनौतीहरू समाधान गर्न सशक्त बनाउने प्रतिबद्धतालाई झल्काउँछ । यो विद्यार्थीहरूका लागि आफ्नो प्राविधिक दक्षता, टिमवर्क र नवीन सोच प्रदर्शन गर्ने एउटा महत्वपूर्ण मञ्च हो । विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता र शिक्षामा एआईको व्यावहारिक प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।