हेटौँडा : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहीत तथा सौहार्दपूर्ण वातावरण बनाउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजकत्वमा सम्पन्न कार्यक्रमका सहभागी सरोकारवालाहरुले पछिल्लो समय डिजिटल मिडियाहरु अर्थात् अनलाइन सञ्चार माध्यममा बढी आचारसंहिता उलङ्घनका घटना हुने गरेको बताएका छन् ।

पछिल्लो समय निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीहरुले एकतर्फी अमुक दलको मात्र समाचार लेख्ने परिपाटी बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले राज्य संयन्त्रले नै सामाजिक सञ्जाल र आम सञ्चारबिचको भिन्नताबारे अझै स्पष्ट हुन नसकेको बताउनुभयो । आम जनमानसमा सामाजिक सञ्जाल प्रयोगकर्ता र पत्रकार एउटै भन्ने गलत बुझाइले सञ्चारकर्मीहरुलाई समस्यामा पारेको उहाँले बताउनुभयो । उहाँले पत्रकार आचारसंहिताको साथै निर्वाचन आचारसंहिताको पालना गरेमा सञ्चार माध्यमको साखसमेत बढ्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मकवानपुरको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले मकवानपुर जिल्लामा अन्यत्र भन्दा कममात्र आचारसंहिता उलङ्घनका घटना घटेको पाइएको भन्दै खुसी व्यक्त गर्नुृभएको छ । उहाँले जिल्लामा यहि वातावरण कायम राख्न सञ्चारकर्मीहरुले समेत सकारात्मक भूमिका खेल्ने अपेक्षासमेत व्यक्त गर्नुभएको छ ।

पे्रस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीले प्रविधिको विकास भए पनि यसको दुरुपयोग बढ्दै गएकाले चुनौती पनि बढ्दै गएको बताउनुभयो । उहाँले सञ्चार माध्यमहरुले आचारसंहिता उलङ्घन गरे काउन्सिलले कारबाहीको प्रक्रिया अघि बढाउनेसमेत जानकारी दिनुभयो । कार्यक्रममा निर्वाचन अधिकृत देवेन्द्रराज आचार्य, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी, वरिष्ठ पत्रकार प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलगायत जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता थियो ।