हेटौँडाः हेटौँडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको छ । शुक्रबारदेखि आइतबारसम्म भएको प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालयले ११ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित उपाधि उचालेको हो ।
प्रतियोगितामा ६ स्वर्ण, ६ कास्य र ७ रजतसहित जनप्रिय माध्यमिक विद्यालय द्वितीय र ६ स्वर्ण मात्रै जितेको तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय तृतीय भएको छ । शुक्रबार प्रतियोगिताको उद्घाटन समारोहमा भएको मार्चपासमा बालउज्वल माध्यमिक विद्यालय प्रथम, सिद्धार्थ माध्यमिक विद्यालय द्वितीय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन् । मार्चपासमा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथ्लेटिक्स विधाका खेलहरु भएको थियो । एथ्लेटिक्स विधाका खेलमा छात्रातर्फ श्रमिक माध्यमिक विद्यालयकी हसिना खातुन र छात्रतर्फ भुटनदेवी माध्यमिक विद्यालयका आशीष यादव उत्कृष्ट खेलाडी घोषित भएका छन् । खातुनले ३ स्वर्ण, १ कास्य र १ रजत जितेकी छन् भने यादवले ४ स्वर्ण हात पारेका छन् । भलिबलमा ज्ञानोदय माध्यमिक विद्यालयकी अप्सना उप्रेती उत्कृष्ट छात्रा खेलाडी र आधुनिक राष्ट्रिय माविका रियाज थोकर उत्कृष्ट छात्र खेलाडी घोषित भएका हुन् ।
कबड्डी प्रतियोगितामा छात्रतर्फ प्रगति माध्यमिक विद्यालय प्रथम र सिद्धार्थ माध्यमिक विद्यालय द्वितीय भएको छ । छात्रातर्फ भृकुटी माध्यमिक विद्यालय प्रथम र हेटौँडा एकेडेमीले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
हेटौँडा उपमहानगरपालिको आयोजना तथा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता भएको थियो । आधुनिक राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिमको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।
