Home मुख्य समाचार रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए

हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नुभएको छ । उहाँ रास्वपा परित्याग गरेसङ्गै कांग्रेस फर्किनु भएको छ ।

रास्वपा मकवानपुरको संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेस सभापति गगन थापाले सर्लाही–४ बाट पार्टीमा स्वागत गरेको कांग्रेस मकवानपुरका सचीव ईश्वर पाठकले जानकारी दिनुभयो । उहाँसंगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला काङ्ग्रेसमा फर्किनु भएको छ ।

गत २०७९ को निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएको उहाँले १२ हजार ५९ मतसहित तेस्रो हुनुभएको थियो । रास्वपा परित्याग गरेका पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापना कालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता लत्याएको आरोप लगाउनुभएको छ ।

यस्तै उहाँले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएपछि वाध्य भएर पार्टी छोड्नुपरेको दावी गर्नुभएको छ ।

संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको पराजुलीको भनाइ छ । यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उहाँले बताउनुभएको छ ।

Exit mobile version