हेटौँडा : थाहा नगरपालिकास्तरीय दोस्रो रनिङशिल्ड शिक्षक भलिबलको उपाधि मत्स्यनारायण माध्यमिक विद्यालयले जितेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजना भएको प्रतियोगिताको उपाधि मत्स्यनारायण माविले जितेको हो ।
शुक्रबार भएको फाइनल खेलमा मत्स्यनारायण माध्यमिक विद्यालयले स्वच्छन्द भैरव माध्यमिक विद्यालयलाई २५–१४ र २५–१८ को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो । उपाधि जितेसँगै मत्स्यनारायण माविको टिमले २५ हजार रुपैयाँ र उपविजेता बनेको स्वच्छन्द भैरव माविले १५ हजार रुपैयाँ पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
शुक्रबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा मत्स्यनारायण माविले सुन्दरीदेवी माध्यमिक विद्यालयलाई २६–२४, ३१–३३ र १५–११ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा स्वछन्द भैरव माविले नाटेश्वर माध्यमिक विद्यालयलाई ३२–३०, ११–२५ र १५–१२ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा पराजय व्यवहोरेका सुन्दरीदेवी मावि र नाटेश्वर माविले ५÷५ हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको बेस्ट सेटर मत्स्यनारायण माविका समिर नापित, बेस्ट स्पाइकर स्वच्छन्द भैरव माविका पिताम्बर घिमिरे र बेस्ट प्लेयर मत्स्यनारायण माविका साहिल तामाङ घोषित भएका हुन् । उत्कृष्ट खेलाडीहरुले ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको समापन समारोहमा थाहा नगरपालिका प्रमुख विष्णुबहादुर बिष्टको प्रमुख आतिथ्य र थाहा नगरपालिकाका खेलकुद संयोजक टिकाराम स्याङ्तानको विशेष आतिथ्य रहेको थियो । बुधबारदेखि सुरु भएको प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहेको थियो ।










