हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । हेटौँडा उपमहानगरपालिको आयोजना तथा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा हेटौँडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रतियोगिताअन्तर्गत १ सय मिटर दौडमा छात्रतर्फ भुटनदेवी माविका आशिष यादव प्रथम र राज यादव दोस्रो र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका दिवस लामा तेस्रो भएको हो । त्यस्तै छात्रातर्फ श्रमिक माविकी हसिना खातुन पहिलो, ज्योति माविकी बजागाई दास्रो र बालबोध माविकी जेनिशा अर्याल तेस्रो भएकी हुन् ।

यसैगरी ८ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ जनप्रिय मावि, भुटनदेवी मावि र सिद्धार्थ मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भएको हो । ८ सय मिटर छात्रा दौड प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि र ज्योति माविले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको छ । १५ सय मिटर छात्र दौड प्रतियोगितामा निर्मल मावि, आधुनिक राष्ट्रिय मावि र जनप्रिय मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । १५ सय मिटर छात्रा दौड प्रतियोगितामा श्रमिक मावि, चन्द्रोदय मावि र जनज्योति मावि क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको छ ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथ्लेटिक्स विधाका खेलहरु हुनेछन् । मार्चपासमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अन्य प्रतियोगिता विजेताहरुले भने शिल्ड, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता आईतबारसम्म चल्नेछ ।