हेटौँडा : सामान्यतः वार्षिक परीक्षाको नतीजामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिन्छ । तर, मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराहीस्थित बज्रबाराही माध्यमिक विद्यालयले मासिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई समेत पुरस्कृत गर्ने गरेको छ । विद्यालयले बिहान प्रार्थना समयमा कक्षागत उत्कृष्ट (प्रथम, द्वितीय र तृतीय) हुने विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पुरस्कृत गर्ने गरेको छ ।
विद्यार्थीको मनोवल बढाउन मासिक परीक्षाका उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गर्ने गरेको प्रधानाध्यापक रामेशमान डंगोलले जानकारी दिनुभएको छ ।
विद्यालयले नियमित रूपमा सञ्चालन गर्दै आएको मासिक परीक्षाको नतिजा प्रकाशन गरी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलले जानकारी दिनुभयो । विद्यालयले २०७६ सालदेखि नियमित परीक्षा सञ्चालन गर्दै आएको छ । यस वर्ष विद्यालयमा कक्षा १० मा ३८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले उनीहरूलाई बन्द प्रशिक्षणमा राखेर पठनपाठन गरिरहेको छ । विद्यालयले माघ ६ गतेदेखि विद्यार्थीहरूलाई बन्द प्रशिक्षणमै राखेर पठनपाठन गराइरहेको छ । दोस्रो त्रैमासिक परीक्षामा ३८ जना विद्यार्थीले परीक्षा दिएकोमा १७ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।
१० कक्षाका विद्यार्थीहरूलाई नगरस्तरीय परीक्षा १० गते आइतबारदेखि फागुन १७ गते आइतबारसम्म सञ्चालन हुँदैछ । यस परीक्षामा त्रैमासिक परीक्षाको तुलनामा अझ राम्रो नतिजा आउने अपेक्षा राखिएको प्रधानाध्यापक डंगोलले बताउनुभयो । प्याव्सन अन्तर्गतका परीक्षा सकिए पनि सामुदायिक विद्यालय अन्तर्गतका परीक्षा १० गते आइतबारबाट मात्रै सञ्चालन हुनेछ भने त्यस परीक्षामा प्याव्सन अन्तर्गतको सरस्वती मन्दिर र इंग्लिस सेकेण्डरी स्कुलले पनि सहभागिता जनाउने उहाँले बताउनुभयो ।
विद्यार्थीहरूलाई बन्द प्रशिक्षणमा राखेर पठनपाठन गर्नका लागि पालिकाबाट नियमित अनुदान बाहेक कुनै पनि सहयोग नरहेको उहाँको भनाइ छ । हाल बन्द प्रशिक्षणमा राखेर पठनपाठन गरिरहेका विद्यार्थीहरूलाई वडा कार्यालयले प्रतिविद्यार्थी चार चार हजारका दरले स्रोत व्यवस्थापन गर्ने वडा अध्यक्षले प्रतिबद्धता गर्नुभएको छ ।
विद्यार्थीहरूको पठनपाठन कमजोर हुनुमा अभिभावकको कम चासो रहेको पनि उहाँको भनाइ छ । हाल १० कक्षामा विद्यार्थीहरूलाई बन्द प्रशिक्षणमा राखेर पठनपाठन गराइरहेका कारण अभिभावकहरूको चासो बढेको उहाँको भनाइ छ । नतिजा सुधारका लागि परीक्षाको विश्लेषण गरेर अभिभावकहरूलाई जानकारी गराएर अझ राम्रो बनाउँदै जाने प्रधानाध्यापक डङ्गोलले बताउनुभयो ।
यस वर्ष कक्षा ८ मा २७ जना विद्यार्थी रहेका छन् । ६ कक्षामा अध्ययनरत विद्यार्थीलाई गत भदौदेखि नै अङ्ग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षाहरू सञ्चालन गर्दै आएको छ ।











