दुर्घटना ग्रस्त स्कारपियो

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शनिबार बिहान ६ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट ३० मिटर तल शाखा बाटोमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा बारा जिल्लाको कलैया उपमहानगरपालिका–२ का ३८ वर्षीय चालक विजय यादव, कलैया उपमहानगरपालिका–७ बरेवा बस्ने ५० वर्षीय सन्तोष कुमार गुप्ता, उहाकी श्रीमती ४० वर्षीया सोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते हुनुभएको छ । घाइतेमध्ये सोभा गुप्ताको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।