हेटौँडा–४, भैरवरोडस्थित जामे मस्जिदमा भेला भएका मुस्लिम धर्मावलम्बी ।

हेटौँडा : मुस्लिम धर्मालम्बीहरूको महान चाड रमजान अर्थात १४४७ हिजरी रोजा बिहीबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पवित्र महिनामा मुस्लिम समुदायले व्रत (रोजा) बस्ने परम्परा रहेको छ । रोजा अवधि पूरा भएपछि मुस्लिमहरूको महान् पर्व ईद उल–फित्र मनाइन्छ ।

रोजाका क्रममा मुस्लिम धर्मावलम्बीहरूले बिहान ५ बजेर २० मिनेटअघि नै खानेकुरा (सेहरी) खाइसक्नु पर्ने हुन्छ । त्यसपछि दिनभरि केही नखाई र पानीसमेत नपिई व्रत बस्ने गरिन्छ । यदि भूलवश केही खाइएमा अल्लाहलाई सम्झी माफी मागेर रोजा निरन्तरता दिन सकिने धार्मिक मान्यता रहेको छ । यस अवधिमा दिनमा पाँच पटक नमाज पढ्ने (कलामपाक), सुन्ने र सुनाउने गरिन्छ ।

बेलुका घाम अस्ताएपछि गरिने नास्तालाई अफतारी भनिन्छ । हालको समयअनुसार साँझ करिब ६ बजेतिर अफतारी गरिने गरिएको छ । सकेसम्म रोजा बसेकाहरू मस्जिदमा भेला भई सामूहिक रूपमा अफतारी गर्ने चलन रहेको छ । हेटौँडा–४, भैरवरोडस्थित जामे मस्जिदमा पनि सामूहिक अफतारीको तयारी गरिएको छ । मस्जिदका अध्यक्ष हाजी तयसमिया अन्सारीका अनुसार गत वर्ष अफतारी कार्यक्रममा करिब ६ सय जना सहभागी भएका थिए भने यस वर्ष करिब ६ सय ५० जना सहभागी हुने अनुमान गरिएको छ । १० वर्ष माथिका व्यक्तिहरू सहभागी हुने व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।

फागुन ७ गतेबाट सुरु भएको रमजान चैत ७ गते समापन हुनेछ । एक महिनासम्म चल्ने यस पवित्र अवधिमा मुस्लिम समुदायले संयम, अनुशासन र धार्मिक आस्थाका साथ रोजा बस्ने गर्दछन् ।