हेटौँडा : तेस्रो वडा खेलकुद महोत्सवको पुरस्कार वितरण कार्यक्रम स्थगित भएको छ । हेटौँडा–४ वडा कार्यालयको आयोजना तथा वडा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालित महोत्सवको पुरस्कार वितरण कार्यक्रम विशेष कारणले स्थगित गरिएको बताइएको छ ।

गत पुस १० गतेदेखि विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै महोत्सव सुरुवात भएको थियो । प्रतियोगिताका विजेताहरुलाई बिहिबार विशेष समारोहका बीच पुरस्कार वितरण गर्ने कार्यतालिका रहेको थियो । तर, केही विशेष कारणले गर्दा पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुपरेको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो । संयोजक पोखरेलका अनुसार स्थगित भएको पुरस्कार वितरण कार्यक्रम आगामी दिनमा उपयुक्त समय मिलाएर आयोजना गरिनेछ । खेलकुद महोत्सव अन्तर्गत वादविवाद, हाजिरीजवाफ, नेपाली हिज्जे, कविता लेखन जस्ता बौद्धिक प्रतियोगिताका साथै फुटबल, क्रिकेट, शिक्षक दौड, शिक्षक भलिबल र एथ्लेटिक्स विधाका खेलहरु सम्पन्न भइसकेका छन् ।