राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा मार्चपास गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । हेटौँडा उपमहानगरपालिको आयोजना तथा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन हेटौँडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता सुरु भएको हो ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समिमको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन समारोह भएको हो । उद्घाटन समारोहमा विद्यार्थीले मार्चपास प्रस्तुत गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले खेलकुद जीवन बनाउने माध्यम भएको बताउनुभयो ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथ्लेटिक्स विधाका खेलहरु हुनेछन् । मार्चपासमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आईतबारसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, , मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंको आतिथ्य रहेको थियो ।