हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा बिहीबार ३ मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१२ मुनालचोकमा घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने ४५ वर्षीय रुद्र धमला घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ बजेर २० मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–५ ठूलीभिर जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृत फेला पर्नेमा ६० वर्षीया सिता कार्की रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ७ बजेको समयमा सिता कमलामाई–६ राटामाटास्थित रामेश्वरधाम मन्दिरमा सप्ताह सुन्न जान्छु भनी घरबाट हिँडेकी थिइन् । उनि अबेरसम्म घर नफर्किए पश्चात आफ्न्त र स्थानियले खोजतलास गर्दै जाँदा साँझ ५ बजेर १० मिनेटको समयमा ठूलीभिर जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको बलेफि गाउँपालिका–३ भिरखर्कस्थित सेल्पाप सामुदायिक वनमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीय भिमबहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो ३ बजेको समयमा श्रेष्ठ सेल्पाप सामुदायिक वनको चिलाउनेको रुखमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।










