हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा जारी पालिकास्तरीय दोस्रो रनिङशिल्ड शिक्षक भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । बुधबारबाट सुरु भएको प्रतियोगिताको बिहिबार क्वार्टरफाइनल खेल सकिएसँगै सेमीफाइनल खेल्ने चार वटा टोलीको टुङ्गो लागेको हो ।

शुक्रबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मत्स्यनारायण माध्यमिक विद्यालय र सुन्दरीदेवी माध्यमिक विद्यालय भिड्ने छ । मत्स्यनारायण माविले सुनौला माध्यमिक विद्यालयलाई र सुन्दरीदेवी माविले जनकल्याण माध्यमिक विद्यालयलाई पराजित गरे सेमिफाइनलमा प्रवेश गरेको हो । यसैगरी दोस्रो सेमिफाइनल खेलमा नाटेश्वर माध्यमिक विद्यालयले स्वच्छन्द भैरव माध्यमिक विद्यालयको सामना गर्नेछ । बिहिबार नै भएको क्वार्टरफाइनलमा नाटेश्वर माविले कालीदेवी माध्यमिक विद्यालयलाई र स्वच्छन्द भैरव माविले सरस्वती माध्यमिक विद्यालयलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा भएको प्रतियोगिता थाहा–३ स्थित जनकल्याण माविको मैदानमा हुँदैछ । प्रतियोगिताको उपाधि विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका अन्य दुई टोलीले ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी व्यक्तिगत विधागत उत्कृष्ट खेलाडीको लागि पनि ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।