हेटौँडा : निर्वाचन आयोगले फागुन २१ मा हुने आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि ४ वटा विदेशी संस्थासहित नेपालका २७ वटा राष्ट्रिय संघ, संस्थाहरुलाई पर्यवेक्षण गर्न अनुमति दिएको छ ।
आयोगले निर्वाचन पर्यवेक्षण गर्नका लागि २७ वटा राष्ट्रिय संस्थाहरुमा डेमोक्रेसी सिसोर्स सेन्टर, उन्नत नेपाल, युवालय, सुशासन महासंघ नेपाल, सञ्चारिका समूह नेपाल, समृद्ध आधार नेपाल, महिला कानुन र विकास मञ्च, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), सामूहिक अभियानलाई पर्यवेक्षणको अनुमति दिएको छ । यस्तै नेपाल मानव अधिकार संगठन, युवा वकालत नेपाल निर्वाचन पर्यवेक्षण समिति नेपाल, गैरसरकारी सँस्था महासंघ नेपाल, संघीय बहसमा युवा, लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाललाई पनि पर्यवेक्षणको अनुमति दिएको छ ।
निर्वाचन आयोगबाट इन्टरनेशनल युएन एच आर काउन्सिल नेपाल, राष्ट्रिय व्यावसायिक पहल, बागेश्वरी असल शासन क्लब, महिला सेवा संस्था, कानुनी न्यायिक अध्ययन प्रतिष्ठान, विश्व उपभोक्ता महासंघ, र प्राज्ञिक विद्यार्थी परिषद् नेपाललाई पर्यवेक्षणको अनुमति पाएको छ । यस्तै ४ वटा विदेशी संस्थाहरुमा द कार्टर सेन्टर, एटलान्टा, संयुक्त राज्य अमेरिका, एसियन नेटवर्क फर फ्रि इलेक्सन (एएनएफआरइएल), द मल्टिडिसिप्लेनरी इन्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ, मासाचुसेट्स र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाको रुपमा मान्यता दिएको छ ।
पर्यवेक्षक संघ संस्थाहरु तोकिएपनि कुन जिल्लाका मतदान केन्द्रहरुका लागि कुन संस्थालाई पर्यवेक्षणको जिम्मा दिने भन्ने निर्वाचन आयोगले हालसम्म टुङ्गो लगाएको छैन । पर्यवेक्षक संस्था र व्यक्तिबारे निर्वाचनको केही दिनअघि मात्र निर्वाचन कार्यालयहरुलाई जानकारी पठाउने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । गत कात्तिक ११ गतेको आयोगको निर्णयानुसार निर्वाचन पर्यवेक्षण निर्देशिका–२०७९ अनुसार आयोगले निर्वाचन पर्यवेक्षण संस्थाहरुलाई निवेदन आव्हान गरेको थियो । जसमा ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय संस्थाहरुबाट निवेदन परेको निर्वाचन आयोगले जानकारी दिएको थियो ।










