सहकारी अभियन्ता रामबहादुर बस्नेतलाई थाहा वर्ष सम्मान–२०८२ प्रदान गरिँदै ।

हेटौँडा : हेटौँडाबाट प्रसारण भइरहेको विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाले १८औं वार्षिकोत्सव मनाएको छ । रेडियोले सप्याहव्यापी कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन बिहिबार सहकारी अभियन्ता रामबहादुर बस्नेतलाई थाहा वर्ष सम्मान–२०८२ बाट सम्मान गरिएको छ । रेडियोका सञ्चालक अरुणराज सुमार्गीले बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । बस्नेत हेटौँडा–८ स्थित सर्वोत्तम सञ्चिती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । सम्मान ग्रहणपछि बस्नेतले आफ्नो कामको मूल्यांकन गरेर सम्मान गरेकोप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा रेडियोका विज्ञापनदातालाई मायाको चिनो प्रदान गरिएको थियो । रेडियोले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन फागुन १ गते हेटौँडा–१ स्थित नेपाल फलफूल तथा तरकारी बजारमा सरसफाई गरेको थियो । फागुन २ गते हेटौँडा–४ हुप्रचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, फागुन ३ गते थाहा दर्शन कार्यक्रम, फागुन ४ गते मकवानवपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य र आयोडिनयुक्त नुन वितरण गरिएको थियो भने फागुन ६ गते हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रमको आयोजना गरेको थियो ।