शिवलाई मृत्युको देवता भनिन्छ । शि र व मिलेर बनेको शिवको नामको ‘’ि लाई हटाएमा ‘शव’ शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ । शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ । देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान शरीरको मध्य भागमा छ र शिवको स्थान कम्मर भन्दा तलको भागमा छ । त्यसैले भगवान शिवलाई शिवलिंगको रूपमा पूजा गरिन्छ । शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ । भगवान शिवलाई संहारको देवता भनिन्छ । भगवान शिव सौम्य आकृति एवम् रौद्ररूप दुवैका लागि विख्यात छन् । अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ ।
शिव श्मशान वा कायान्तमा बस्दछन्, उनी पर्खिरहन्छन् । काया अर्थात् ‘देह’ वा ‘शरीर’ र अन्त अर्थात् ‘अन्त्य हुनु ।’ कायान्त अर्थात्, जहाँ ‘शरीर अन्त्य हुन्छ, जीवन अन्त्य हुने होइन ।’ अतः देहान्त भनिन्छ, जीवान्त होइन । देहको अन्त्य हुन्छ, जीवनको होइन । तपाईंले यस धर्तीबाट जे–जति जम्मा गर्नुभएको छ, ती सबै तपाईंले यहीँ छोडेर जानुपर्छ । यदि तपाईंले यसरी जीवन बाँच्नुभएको छ कि तपाईंले आफूलाई केवल शरीरको रूपमा जान्नुभएको छ भने, तब जुन क्षण तपाईं शरीर छोड्नुहुन्छ, त्यो तपाईंको जीवनमा अत्यन्तै तीव्रताले भरिएको क्षण हुनेछ । यदि तपाईंले आफ्नो शरीरभन्दा पर केही जान्नुभएको छ भने, शरीर छोड्नु कुनै ठूलो कुरा हुँदैन ।
तपाई शिवको नजिक गइरहनु भएको छ । जसमा आफू को हुँ र के हुँ भन्ने कुराको बोध भएको हुन्छ, उसका लागि कायान्त ठूलो क्षण हुँदैन । तर, जो–जसले शरीरको रूपमा मात्रै जीवन बाँचेका हुन्छन् । जब ती सबैथोक छोड्नुपर्छ, जसलाई तपाईंले आफू भनेर जान्नुभएको छ । त्यो क्षण निकै तीव्रताले भरिनेछ । शिवले श्मशानलाई आफ्नो निवास बनाएका छन् । ‘श्म’ अर्थात् शव वा लास अनि ‘शान’ अर्थात् शयन वा बस्ने ठाउँ । जहाँ शव हुन्छ, त्यहीँ शिव हुन्छन् । किनकि, उनले यो बुझेका छन् जीवित मानिसहरूसँग काम गर्नु भनेको समय बर्बाद गर्नु हो ।
संस्कृत आर्य साहित्यको पवित्र शब्दावलीमा मृत्यु केवल श्वासको थोपिएको पर्यायवाची मात्र होइन यो एक देवता हुन् । जो आफैं रुन्छन्, एक दार्शनिक हुन् जो सिकाउँछन् र एउटा देउराली हुन् जहाँबाट हरेक आत्माले बाटो काट्नैपर्छ । प्रोटो इन्डो इरानी मात्र्युबाट उत्पन्न, आदिम मूल ‘मर्नु’ सँग जोडिएको यस शब्दको स्मृतिमा ल्याटिनको मोर्स अडिएका छन् । तैपनि संस्कृत वाङ्मयमा यसले अरूै आध्यात्मिक चेतना बोकेको छ । ऋग्वेदमा मृत्यु राक्षस होइनन् । एक सजग उपस्थिति हुन्, जसलाई विनयपूर्वक सम्बोधन गरिन्छ ।
‘हे मृत्यु, अर्कै बाटो हिँड, जुन देवताको मार्ग होइन, तिम्रो आफ्नै छुट्टै मार्ग होस्… हाम्रा सन्तान र पुस्तालाई क्षति नपुर्याऊ ।’
यहाँ मृत्युसँग संवाद छ, सम्झौता छ । जुन पाश्चात्य साहित्यको अन्धो कात्नेवालासित कतै मेल खाँदैन ।
महाभारतले यस विरोधाभासलाई अझ गहिरो बनाउँछ । आदिपर्वमा मृत्यु पुरुष देवता हुन् । मृत्युदेव, विकृति र अधर्मबाट उत्पन्न, ब्रह्मचारी, सन्तानहीन । जसले सबैलाई नाश गर्छ, उसले जीवन कसरी दिन सक्छ ? तर द्रोणपर्व र शान्तिपर्वमा मृत्यु देवी हुन् । जो ब्रह्माकै शरीरबाट रुँदै जन्मिएकी हुन् । जब सृष्टिकर्ता उनलाई संसार नाश गर्न आदेश दिन्छन्, उनी हर्षले होइन, करुण स्वरले रोएर विरोध गर्छिन् । यो दायित्वले प्राणीमात्रलाई पीडा मात्र दिनेछ । ब्रह्मा, दयापूर्वक, उनलाई सम्झाउँछन् कि उनी त केवल निमित्त मात्र हुन्; रोग र काल नै साँचो कार्यकर्ता हुन्, उनका हात पापले रंगिने छैनन् । यी हुन् ती देवी जसले आफ्नो पद कहिल्यै चाहिनन्, जसले संसारको सन्तुलनका लागि मात्र हँसिया उठाइन् । सम्भवतः विश्वसाहित्यमा करुणाको यति मार्मिक चित्रण विरलै पाइन्छ ।
तर मृत्युको दार्शनिक गरिमा कठोपनिषद्मा चरम शिखरमा पुग्छ, जहाँ मृत्यु स्वयं गुरु बन्छन् । बालक नचिकेता मृत्युको आश्रममा प्रवेश गर्छन्, तीन रातसम्म भोकै, प्यासै, स्वागतविहीन पर्खिरहन्छन् । जब मृत्युका स्वामी फर्केर आउँछन्, उनी आफ्नो असावधानीमा लज्जित हुन्छन् र प्रायश्चित्तस्वरूप तीन वरदान दिन्छन् । तेस्रो वरदानमा नचिकेताले त्यो प्रश्न सोध्छन् जुन मानवताको प्रारम्भदेखि असमाधेय छ ।
‘यो संशय छ, जब मानिस मर्छ कोही भन्छन्, ऊ छ; कोही भन्छन्, ऊ छैन । यो म तिमीबाट सिक्न चाहन्छु ।’ मृत्यु हच्किन्छन् । यो रहस्य त देवताहरूले समेत ईष्र्या गर्ने गोप्य विद्या हो । तर उनी ढल्कन्छन् र आफ्नो शिक्षामा प्रकट गर्छन् कि आत्मा अमर छ, जो कहिल्यै मारिँदैन; ऊ रथ होइन, रथी हो; शरीर होइन, साक्षी हो । यस उपनिषद्का अनुसार मृत्यु जीवनको अन्त्य होइन, जीवनको उद्घाटन हो ।
पुराणहरूमा मृत्यु ब्रह्माण्डीय वंशावलीको अभिन्न अङ्ग हुन् । विष्णुपुराणमा मृत्यु भय (डर) र माया (छल) का पुत्र हुन्, र आफै व्याधि (रोग), जरा (बुढ्यौली), शोक (दुःख), र क्रोध (रिस) का पिता हुन् । यो त्यो वंश हो जसले संसारको सम्पूर्ण वेदनालाई निरन्तरता दिन्छ । तर यी मृत्यु नै अर्को द्वापर युगमा व्यास पनि हुन्, वेदका संयोजक, र सुनीथाका पिता, जसको पुत्र वेनले पृथ्वीमा विनाश ल्यायो । उनी नरकका प्रपितामह पनि हुन् र शास्त्रका रक्षक पनि; राजवंशको अन्त्य पनि र मोक्षको मूल पनि । मत्स्यपुराणमा मृत्यु मातृका शक्ति हुन्, अन्धकासुरको रगत पिउन सृष्टि गरिएकी एक उग्र देवी, जो रणक्षेत्रमा मात्र तृप्त हुन्छिन् । श्रीमद्भागवतमा भगवान्का विषयहरू मृत्यु–पाश–विशातनीम् हुन् । जसले जन्म–मृत्युको सिक्री नै काटिदिन्छ । यसरी मृत्यु आफैं त्यो सिक्री पनि हुन् र त्यसलाई काट्ने असि पनि । नक्षत्रहरूमा समेत मृत्युको छाया परेको छ । होराशास्त्र र बौद्ध ज्योतिषमा मृत्यु एक क्रूर ताराको नाम हो, जो विपत्ति र अनिष्टको सूचक हो । यो अनित्यताको स्वर्गीय हस्ताक्षर हो, जो अग्निमा कोरिएको छ । पालि त्रिपिटकमा उनी मच्चु राजा हुन् । मृत्युका राजा, जसले सबै प्राणीलाई पछ्याउँछन्, तर जसको अधिकार ती मानिसहरूले उल्लङ्घन गर्छन् जसले यथार्थलाई यथार्थरूपमा देख्न सक्छन् ।
यस विशाल, विरोधाभासपूर्ण साक्ष्यबाट के उजागर हुन्छ भने, मृत्युको यो दृश्य एकात्मक छैन, सप्तरङ्गी छ । मृत्यु पुरुष पनि हुन्, नारी पनि; क्रूर पनि, करुणामय पनि; दण्डदाता पनि, शिक्षक पनि; वंशको आकस्मिक उपज पनि, ईश्वरको जानीबुझी सृष्टि पनि । उनी त्यो माझी हुन् जसलाई कुनै सिक्काले पार गर्न सक्दैन । तर उनी त्यो दार्शनिक पनि हुन् जसले अन्तिम प्रश्नको सामना गर्दा मुख फर्काउँदैनन्, उत्तर दिन्छन् । भारतीय उपमहाद्वीपको साहित्यमा मृत्यु कहिल्यै केवल अन्त्य होइन । उनी जीवितहरूका लागि राखिएको ठूलो दर्पण हुन् र उनको चिल्लो अन्धकारमा हामी आफ्नो मेटिन देख्दैनौं, आफ्नो आकृति देख्छौं ।











