हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा मंगलबार ३ मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१, पुलचोकमा टेलरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । मंगलबार राती ९ बजेर २० मिनेटको समयमा गैंडाकोटबाट भरतपुरतर्फ जाँदै गरेको बा प्र ०३००२ ख ३४२३ नम्बरको टेलरले पैदल हिँडिरहेकी नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ की ५५ वर्षीया दुर्गा कटेललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी कटेललाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । राती बजेर ९ बजेर ५० मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । टेलर र चालक मकवानपुरको मनहरी गाउँपालिका–३ का २३ वर्षीय उज्वल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछापको मन्थली नगरपालिका–६, बेनिघाटस्थित सुनकोशी र तामाकोशी नदीको संगमस्थल नजिकै एक युवक मृत अवस्थामा फेला परेका छन् । गत माघ २७ गते बिहान १० बजेको समयमा पुष्पलाल (मन्थली–खुर्कोट) सडकखण्डमा काठमाडौंबाट रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुंगा तर्फ जाँदै गरेको प्र ३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा हराइरहेका रामेछाप उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार मृत फेला परेका हुन् । सुनुवार मंगलबार दिउँसो १ बजेर ३० मिनेटको समयमा सुनकोशी र तामाकोशी नदीको संगमस्थलबाट एक सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । शव मुचुल्का पश्चात् पोस्टमार्टमका लागि मन्थली अस्पताल रामेछाप पठाइएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी खोलाको बीच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान ११ बजेको समयमा नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शव सडी, गलेको अवस्थामा फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात् शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।










