प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन १८ दिन बाँकी छ । आज सोमबारबाट उम्मेदवारका लागि प्रचारप्रसारको अवधि सुरु हुनेछ । १५ दिनसम्म उम्मेदवारको प्रचारप्रसारपछि केही समय मौन अवधि रहने र फागुन २१ गते मतदानको कार्यक्रम रहेको छ । यस पटकको निर्वाचन विशेष परिस्थितिमा हुन लागेको हुँदा निर्वाचनमा सुरक्षाको चिन्ता र चासो पनि उत्तिकै रहेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकै भावनाअनुरुप तत्कालीन प्रतिनिधिसभा विघटन गरिएकाले नयाँ निर्वाचन हुन लागेको हो । विशेषगरी भ्रष्टाचार अन्त्य र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवाको लागि भएको जेनजी आन्दोलन पुराना दल तथा नेताप्रति समेत लक्षित बनेको सन्दर्भमा अहिलेको निर्वाचनलाई नयाँ र पुराना शक्तिबिचको प्रतिस्पर्धा मानिएको छ । नेपाली नागरिकले पुराना राजनीतिक दल र पुरानै नेतालाई निर्वाचनमा जिताउँछन् कि नयाँ दल तथा नयाँ उम्मेदवारलाई जिताउँछन् भन्ने कुरा मतगणनापछि मात्र थाहा हुने भए पनि नयाँ र पुराना दलबिच हुने प्रतिस्पर्धा शान्तिपूर्ण बनाउन उच्च सुरक्षा सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।
चुनावी माहोल तातिँदै जाँदा उम्मेदवारको सुरक्षालाई पहिलो चुनौती मान्न सकिन्छ भने मतदानको दिन मतदान केन्द्रमा हुन सक्ने झडपका घटनाले पनि सुरक्षामा समस्या ल्याउन सक्छ । यस्तै, मतदानपछि मतपेटिका मतगणनास्थलसम्म ल्याउने क्रममा पनि सुरक्षाको उचित व्यवस्था हुनु आवश्यक छ । विगतमा पनि निर्वाचनको समयमा देशका विभिन्न भागमा केही घटनाहरु हुने गरेको तथ्यलाई सुरक्षा निकायले मनन गर्नुपर्छ । गत भदौको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र राजधानी काठमाडौँसहित देशका विभिन्न जेलबाट भागेका कैदीबन्दी यस पटकको निर्वाचनमा मुख्य चुनौती बन्न सक्ने अनुमान गर्न सकिन्छ । यस पटक निर्वाचन बहिस्कार गर्ने वा निर्वाचनको खुलेर बिरोध गर्ने राजनीतिक दलहरु नभएका कारण निर्वाचन बिथाल्ने प्रयास हुने सम्भावना कम रहे पनि निर्वाचन प्रचारप्रसार वा अन्य अवस्थामा उम्मेदवारमाथि आक्रमण हुनसक्नेतर्फ सुरक्षा निकायले विशेष ध्यान दिनु उचित हुनेछ ।
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीहरु र लुटिएका हतियारहरुबाट निर्वाचनलाई असर नपर्ने बागमती प्रदेश प्रहरी प्रमुखले दावी गरे पनि अन्य व्यक्तिहरुबाट पनि सुरक्षा चुनौती हुने सम्भावनालाई नजरअन्दाज गरिनु हुन्न । बागमती प्रदेशका १० वटा कारागारबाट भागेका कैदीबन्दीमध्ये ३ सय ७६ जना अझै बाहिर रहेका छन् । कारागारबाट भागेका व्यक्ति र लुटिएका हतियारहरु पक्राउ गर्नेे क्रम जारी रहेकोले निर्वाचनको सुरक्षा व्यवस्थालाई खासै असर नपार्ने बताइरहँदा प्रहरीले उच्च सतर्कता भने अपनाउनै पर्छ । भागेका कैदीबन्दीहरु एउटै दल वा आपराधिक समूहका नभएका र फरक–फरक स्थानमा लुकिरहेकाले निर्वाचनको सुरक्षा माहोलमा प्रत्यक्ष असर नपर्ने प्रदेश प्रहरी प्रमुखको भनाइ छ । प्रदेशभर एक हजार २८८ मतदान स्थलमा ९ हजार ३९ प्रहरी तथा १६ हजार ४५३ म्यादी प्रहरी परिचालन हुनेछन् ।
मुलुकका पुराना, ठूला र बारम्बार शासन सत्तामा रहेका दल तथा तिनका केही शीर्ष नेताहरु जेनजी आन्दोलनको क्रममा निशानामा परेका थिए । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने, निर्वाचन शान्तिपूर्ण नहुने, निवार्चन निष्पक्ष नहुनेजस्ता आशंकाबिच निर्वाचन हुने अवस्थामा पुगेको छ । आइपर्ने सुरक्षा चुनौती सामना गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु सरकारको दायित्व बन्दछ । आजबाट उम्मेदवारहरु निर्वाचन प्रचारप्रसारमा व्यस्त बन्छन् । पार्टीका कार्यकर्ताका साथै सर्वसाधारणमा समेत चुनावी चासो बढ्छ । यस्तो अवस्थामा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन राज्यका सबै सुरक्षा निकाय चनाखो बन्नु आवश्यक छ । शान्ति, सुरक्षा कायम हुन नसक्दा निर्वाचन नै बिथोलिने भएकाले भयरहीत वातावरण बनाउनै पर्छ । भयरहीत वातावरणमा वास्तविक जनमत अभिव्यक्त हुने भएकाले अर्थपूर्ण निर्वाचन गराउन सरकारले सबै प्रकारका सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्छ ।










