हेटौँडा: हिन्दू धर्मावलम्बीहरुको पर्व महाशिवरात्रि आइतबार मनाइएको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीको दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा देशभरका शिवालयहरुमा भगवान शिवको पूजा आराधना गरिएको छ ।

हेटौँडामा शिवरात्रिको दिन भुवनेश्वर, गोरक्षेश्वर, रुद्रेश्वर, जलेश्वरलगायत शिव मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल थियो । शिवरात्रिको साँझमा टोल–टोलमा धुनी बालिएको थियो । यस पर्वको अवसरमा सामूहिक तथा व्यक्तिगतरुपमा प्रसाद बनाएर वितरण गरी भजनकीर्तनसमेत गरिएको छ ।

शिवरात्रिको अवसरमा विशेषगरी काठमाडौँंको पशुपतिनाथ मन्दिरमा नेपाल तथा भारतका लाखौँ भक्तजनहरुले चतुर्मुख शिवलिङ्गको दर्शन गरेका छन् । महाशिवरात्रिको अवसरमा शिव मन्दिर तथा शक्तिपिठहरुमा पूजा गर्ने, शिवलिङ्गमा बेलपत्र, धतुरो, दूध, जल आदि चढाउने, भक्तहरू ब्रत बस्ने, राति जाग्राम बस्ने गर्दछन् ।

महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथका साथै झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटाङको हलेसी, मोरङको किराँतेश्वर, गुल्मीको गलेश्वर आदि शिवालयमा भक्तजनको भीड लाग्दछ । यो पर्वले हिन्दूहरुको आध्यात्मिक जागरण, भक्तिको महत्व र शिवको महिमालाई उजागर गर्दछ ।

महाशिवरात्रिकै दिन भगवान शंकर जोतिर्लिङ्गको रुपमा प्रकट हुनुभएको विश्वास गरिन्छ । यसै दिन शिव र पार्वतीको विवाह भएको मानिन्छ । महाशिवरात्रिको रातमा जागा बसेर शिवको पूजा आराधना गर्द मोक्ष प्राप्त हुने विश्वास रहेको छ ।

महाशिवरात्रिकै दिन नेपाली सेनाको स्थापना दिवसको रुपमा विशेष कार्यक्रमसमेत गरिएको छ । काठमाडौँको टुँडिखेलमा रहेको सैनिक मञ्चमा सैनिक बढाइँ, परेड तथा अन्य क्रियाकलाप गरी सैनिक दिवस मनाइएको छ । सैनिक दिवसको अवसरमा नेपाली सेनाले सैनिक कला, कौशल र हातहतियार प्रदर्शन गरेको छ ।