रोटरी क्लबले निर्माण गरिदिएको विश्रामस्थल ।

हेटौँडा : हेटौँडा–४ स्थित भुवनेश्वर महादेव मन्दिरमा विश्रामस्थल निर्माण गरिएको छ । मन्दिरको उत्तर–पूर्वी कुनामा रोटरी क्लब अफ हेटौँडा र स्थानीयको समेत लागत सहभागितामा एक लाख ४७ हजार रुपैयाँ लागतमा विश्रामस्थल निर्माण गरिएको हो ।

आइतबार महाशिवरात्रीको अवसर पारेर विश्रामस्थलको उद्घाटन गरिएको छ । रोटरी क्लबको १ लाख रुपैयाँ र थप रकम समुदायबाट संकलन गरिएको क्लबका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो । यसअघि रोटरी क्लबले हेटौँडा–९ स्थित त्रिवेणीधाममा विश्रामस्थल निर्माण गरिसकेको छ भने अब हुप्रचौरमा पनि विश्रामस्थल निर्माण गर्ने अध्यक्ष प्रधानले बताउनुभयो । आइतबार भुवनेश्वर मन्दिर परिसरको विश्रामस्थलको उद्घाटनसँगै त्यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी भुवनेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

विश्रामस्थल उद्घाटन कार्यक्रममा सहभागीले पनि केही रकम सहयोग गरेका छन् । विश्रामस्थल निर्माण गरेर बचत भएको रकम भुवनेश्वर मन्दिर व्यवस्थापन समितिलाई नै हस्तान्तरण गरिएको छ । कार्यक्रममा भुवनेश्वर मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा रोटरी क्लबका पदाधिकारीको सहभागिता रहेको थियो ।