हेटौँडा : निर्वाचनलक्षित आर्थिक कारोबारका लागि छुट्टै बैंक खता खोल्न शुक्रबारसम्म २७ जना उम्मेदवारहरुले सिफारिस लिएका छन् । गत माघ २१ गते छुट्टै खाता खोल्न आग्रह गर्दै निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरका प्रतिनिधिसभाको दुबै क्षेत्रका उम्मेदवारहरुलाई पत्राचार गरेपछि उम्मेदवारहरुले धमाधम खाता सञ्चालनका लागि निर्वाचन कार्यालयसँग सिफारिस लिन थालेका हुन् ।
हालसम्म मकवानपुरका दुईवटा निर्वाचन क्षेत्रका ४४ उम्मेदवारहरुमध्ये अधिकांश दलका उम्मेदवारहरुले खाता सञ्चालनका निम्ति सिफारिस लिइसकेको भएपनि स्वतन्त्र उम्मेदवारहरुमध्ये थोरै उम्मेदवारहरुले मात्र सिफारिस लिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक दिनेश रेग्मीले बताउनुभयो ।
निर्वाचन आयोगबाट पारित कार्यविधि अनुसार निर्वाचनका कार्यक्रमलक्षित खर्च एकै प्रतिनिधिले मात्र गर्न पाउने र निर्वाचन खर्चका लागि आयोगका कार्यालयहरुसँग सिफारिस लिएर छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले तोकेको आचारसंहिता अनुरुप मकवानपुर जिल्लाका उम्मेदवारहरुले ३३ लाखसम्म चुनावी खर्च गर्न पाउने भएकोले योभन्दा बढी खर्च भए नभएको अनुगमन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौँडालाई तोकिएको छ ।
प्रमुख कोष नियन्त्रक रेग्मीले उम्मेदवारहरुले सिफारिस लिएर नयाँ खाता खोले नखोलेको अनुगमन गर्ने, एकभन्दा बढी प्रतिनिधिले खर्च गरे वा नगेको हेर्ने, प्रचारमा सार्वजनिक सम्पति प्रयोग गर्न नपाइने, निर्वाचनका लागि गैरसरकारी संस्था तथा सार्वजनिक संस्थाहरुबाट आर्थिक सहयोग लिए नलिएको हेर्ने, कोणसभा वा आमसभा गर्दा हुने खर्च अनुगमन गर्ने तथा आयोगले तोकेको सीमाभित्रको रकम खर्च भएको वा बढी भएको हेरी निर्वाचन कार्यालयलाई विवरणहरु पेश गरिने बताउनुभयो । उम्मेदवारहरुको निर्वाचन खर्च प्रक्रिया पारदर्शी भए नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयले अनुगमन गर्ने जनाएको छ ।
राजनीतिक झडप, बहिष्कार तथा निर्वाचन आचारसंहिता उलङ्घनका घटना हुनसक्ने विषयमा समेत आफूहरु तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । हालसम्म जिल्ला प्रशासन कार्यालयको इजाजत प्राप्त १ सय ४४ हातहतियाहरु प्रशासनसमक्ष बुझाइसकेको समेत कार्यक्रममा जानकारी दिइएको छ ।











