हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । शनिबार हेटौँडामा छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जवानकारी दिएको छ ।
हेटौँडा–११, थानाभर्याङमा हेटौँडाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ज ००४३ नम्बरको म्याजिक गाडिले विपरित दिशाबाट आउँदै गरेको ना ४० प ९८०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा गुडिरहेको ठेलामा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मनहरी–३, हाँडीखोलाका २६ वर्षीय सुदन बराईली र ठेलावाला हेटौँडा–१० मा बस्दै आएका भारतीय नागरिक ६० वर्षीय गजेन्द्र साह घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि सिएमसि चुरेहिल अस्पताल पठाइएको छ भने म्याजिक र म्याजिक चालक हेटौँडा–३, बसामाडीका ४८ वर्षीय लिलाबहादुर थिङ जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ ।
यस्तै, शनिबार राति ७ बजेर १० मिनेटको समयमा हेटौँडा–१८, ठुलोदमारचोकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । टायर पञ्चर भई मर्मतका लागि रोकिराखेको ना ३ त ८७५१ नम्बरको बालुवा लोड भएको ट्याक्टरको पछाडिको भागमा ना ४० प ८४३० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१५ का २१ वर्षीय अभिषेक वाईबा र पछाडि सवार २७ वर्षीया एक महिला घाईते भएका थिए । घाइतेहरुलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएइको प्रहरीले जनाएको छ ।
हेटौँडा–८, कमानेमा आगोले पोलेर एकजना घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएको स्थानीय ५५ वर्षीय विश्व श्रेष्ठले घरायसी विवाद पश्चात बाख्राको गोठमा पेट्रोल छरेर आगो लगाउने क्रममा उक्त पेट्रोल आफ्नै अनुहारमा परी अनुहार जली घाईते भएका छन् । घाइते श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।











