विद्यालय व्यवस्थापन समिति गठनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः ताराप्रसाद अधिकारी चयन हुनुभएको छ । शुक्रबार भएको विद्यालयको २० औँ अभिभावक भेलाले अधिकारीलाई पुनः अध्यक्षमा चयन गरेको विद्यालयका प्रधानाध्यापक रामहरि मैनालीले जानकारी दिनुभयो ।

समितिको सदस्यहरूमा ज्ञानबहादुर थापा, नसिम अन्सारी, इजरायल अन्सारी, ईश्वरी चालिसे, सफिना खातुन, विष्णुमाया मुक्तान, गुणबहादुर गौतम चयन हुनुभएको छ । विद्यालयले अभिभावक दिवसको अवसरमा तीनजना शिक्षकहरूलाई पनि सम्मान गरेको छ । साथै १ देखि ८ कक्षासम्म वार्षिक पुरस्कार वितरण अन्तर्गत विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक मैनालीले जानकारी दिनुभयो ।

विद्यालयले विद्यालयमा २२ वर्ष अध्ययन गराउनुभएकी भवानी अर्याल, २८ वर्ष अध्ययन गराउनुभएका गुडबहादुर गौतम र १२ वर्ष अध्ययन गराउनुभएकी उषा पौडेललाई सम्मानपत्र गरिएको छ । साथै वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री वितरण गरिएको प्रधानाध्यापक मैनालीले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । अभिभावक भेलामा वडाध्यक्ष सुशील घिमिरे र हेटौँडा उपमहानगरपालिकाको शिक्षा अधिकृत हरिचन्द्र सापकोटाको पनि आतिथ्य रहेको थियो । आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ३०३ जना विद्यार्थी अध्ययनरत छन् ।