हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ तथा शैक्षिक गुणस्तर सुधार समितिको संयुक्त आयोजनामा ‘तेस्रो वडा खेलकुद महोत्सव’ सुरु भएको छ । शुक्रबार हेटौँडा–४ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षकको सहभागितामा र्याली समेत निकालिएको थियो ।
हेटौँडा–४ स्थित हुप्रचौरबाट खेलकुद महोत्सवको व्यानरसहित सुरु भएको र्याली मेनरोड, सिमाचोक र स्कूलरोड हुँदै पुनः हुप्रचौर पुगेर सम्पन्न भएको थियो । र्याली अघि हुप्राचौरमा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष तथा श्रमिक माविका प्रधानाध्यापक श्रीराम दहालको सभाध्यक्षता तथा संविधान सभा सदस्य अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा उद्घाटन समारोह आयोजना गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको पनि आतिथ्य रहेको थियो ।
खेलकुद महोत्सव अन्तर्गत शुक्रबार वडास्तरीय एथ्लेटिक्स विधाका खेलहरू भएका छन् । शुक्रबार भएको जुनियर लङ्जम्प (कक्षा ५ सम्म) प्रतियोगितामा छात्रातर्फ भुटनदेवी माध्यमिक विद्यालयकी सुमन शर्मा प्रथम र छात्रतर्फ ब्रह्मदिक एकेडेमीको आयस दोङ र भुटनदेवी माविका प्रिन्स यादव प्रथम भएका छन् । १ सय मिटर दौडमा छात्रातर्फ श्रमिक माध्यमिक विद्यालयकी हसिना खातुन र छात्रर्फ भुटनदेवी माविका इप्सन राजथला प्रथम भएका छन् । यस्तै ४ सय मिटर दौडमा प्रतियोगितामा श्रमिक माविका नियाज आलम, सुजाताकुमारी पटेल, हसिना खातुन र तुफेल देवानका टोली प्रथम भएका छन् ।
यसैगरी शुक्रबार भएको सिनियर (कक्षा १० सम्म) सटपुट प्रतियोगितामा छात्रातर्फ नवोदय शिशु सदनकी आसी बानियाँ र छात्रतर्फ भुटनदेवी माविका कृष्णदास थारु प्रथम, लङ्ग जम्पमा श्रमिक माविका विपिन लामिछाने र ब्रह्मदिक एकेडेमीकी रमुना थापा प्रथम, ट्रिपल जम्पमा श्रमिक माविका हसिना खातुन र शेख नेहाल प्रथम प्रथम भएका छन् । यसैगरी ४ सय मिटर दौडमा भुटनदेवी माविका मोति साह र श्रमिक माविकी करिना खातुन प्रथम, ८ सय मिटर दौडमा भुटनदेवीका रिसु बानियाँ र आधुनिक राष्ट्रिय माविकी सुविना गोले प्रथम, १५ सय मिटर दौडमा श्रमिक माविकी हसिना खातुन र भुटनदेवी माविका नितेश यादव प्रथम भएका छन् । प्रतियोगिताका विजेताहरुलाई फागुन ७ गते समापन कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।










