एकल गायन प्रतियोगितामा सहभागी एक विद्यार्थी ।

हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय विद्यालयको आयोजनामा अन्तर विद्यालयस्तरीय एकल गायन प्रतियोगिता भइरहेको छ । कला साधक भीम विरागको स्मृतिमा आज शुक्रबार विद्यालय परिसरमै जारी प्रतियोगितामा २० वटा विद्यालयबाट ३१ जना विद्यार्थी सहभागी छन् ।

चौथो संस्करणको प्रतियोगितामा सहभागी विद्यार्थीले नेपाली स्वदेश गान तथा आधुनिक गीत गाउनुपर्ने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै एकजनालाई प्रोत्साहनस्वरुप २ हजार ५ सय नगद प्रदान गरिने विद्यालयका संस्थापक प्रिन्सिपल श्याम कुमार बानियाँले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा लोचन भट्टराई र ओमप्रकाश राईले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । संस्थापक प्रिन्सिपल बानियाँको अध्यक्षता तथा संगीतकार बुलु मुकारुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालका अध्यक्ष केशवलाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।