हेटौँडा–१६, हटियास्थित जनप्रिय माविमा एसईई तयारी परीक्षा दिँदै विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडा : मकवानपुरमा एसईई तयारी परीक्षा सम्पन्न भएको छ । मकवानपुरको हेटौँडा उपमहानगर, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका अधिकांश विद्यालयमा बिहीबार एसईई तयारी परीक्षा सकिएको हो ।

यि पालिकाहरुका अधिकांश संस्थागत र सामुदायिक विद्यालयहरुमा परीक्षा सकिएको छ । सामुदायिक विद्यालयमा नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले तयार पारेको प्रश्नपत्रका आधारमा परीक्षा भएको समितिका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभयो । नगरस्तरीय शैक्षिक समन्वय समितिको प्रश्नपत्र प्रयोग गरेर हेटौँडा, बकैया, कैलाश, मकवानपुरगढी र मनहरीका विद्यालयमा २ हजार ६ सय ४२ जना विद्यार्थीले परीक्षा दिएका हुन् । हेटौँडा उपमहानगरपालिकाका २८ वटा विद्यालय, बकैया र कैलाश गाउँपालिकाका सबै विद्यालय, मनहरी गाउँपालिकाका ६ वटा विद्यालय र मकवानपुरगढी गाउँपालिकाका ६ वटा विद्यालयले पनि नगरस्तरीय शैक्षिक समन्वय समितिले तयार पारेको प्रश्नपत्र प्रयोग गरेर तयारी परीक्षा सञ्चालन गरेको हो ।

हेटौँडा–१८ स्थित गोरक्षेश्वर मावि र ज्योति माविले भने परीक्षा केन्द्र साटासाट गरेर विद्यार्थीलाई परीक्षामा सहभागी गराएका छन् । हेटौँडा उपमहानगरपालिकाको भुटनदेवी मावि र बालज्योति माविले भने फागुनमा परीक्षा लिने जनाएको छ । सम्पन्न परीक्षाको नतिजा फागुन १० गतेभित्र प्रकाशित गरिने नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभयो । नतिजा प्रकाशनपछि नतिजाको मुल्याङ्कन तथा समिक्षा गर्दै कमजोर विषयहरुका लागि उपचारात्मक कक्षाहरु सञ्चालन गर्ने अध्यक्ष लुइटेलले बताउनुभयो । विद्यालयहरु फरक गरी परीक्षा सम्पन्न भएका विद्यार्थीहरुको नतिजा पनि मूल्याङ्कन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मार्फत देशभर एसईई तयारी परीक्षा सम्पन्न भएको छ । मकवानपुरका ३७ वटा संस्थागत विद्यालयका १ हजार ३ सय ५१ जना विद्यार्थीले एसईई तयारी परीक्षामा सहभागी भएका थिए । प्याव्सन मकवानपुरले जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेर विद्यार्थीले फरक विद्यालयमा परीक्षा दिएका हुन् । हेटौँडा उपमहानगरमा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमी, हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदन र रिलायन्स एकेडेमी, हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूल र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस्तै मनहरीमा युनाइटेड बोर्डिङ स्कूल र युनिभर्सल लर्निङ एकेडेमीमा परीक्षा केन्द्र तोकिएका थिए भने थाहा नगरमा पालुङ बहुमुखी क्याम्पस र बज्रबाराही माविमा परीक्षा सञ्चालन गरिएको थियो । प्याव्सनले बिहान ७ बजेदेखि परीक्षा सञ्चालन गरेको थियो भने सामुदायिक बिद्यालयहरुले दिउसो १ बजेदेखि परीक्षा सञ्चालन गरेका थिए । यस वर्षको एसईई आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।