हेटौँडाः प्रदेश निर्वाचन कार्यालय मकवानपुरले निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय पालिकाहरुमा मतदाता शिक्षा अनुगमनकर्ता तोकेको छ । निर्वाचन आयोगको निर्देशन अनुरुप प्रत्येक स्थानीय तहमा मतदाता शिक्षा अनुगमनकर्ता तथा फोकल पर्सन तोकिएको हो ।

प्रत्येक पालिकाको शिक्षा तथा सामाजिक विकास महाशाखा प्रमुखलाई मतदाता शिक्षा अनुगमनकर्ता तोकिएको छ । तोकिएका मतदाता शिक्षा अनुगमनकर्ताले आ–आफ्ना पालिकाहरुका वडाहरुमा मतदाता शिक्षा स्वयम्सेवक तोक्ने क्रम जारी रहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाका १ सय २ वटै वडाहरुमा मतदाता शिक्षा स्वयम्सेवकहरु खटाएर मतदाता शिक्षा स्वयम्सेवकले मतदाताहरुलाई घरघरमा मतदान गर्ने सही तरिकाबारे सिकाउने निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा स्वयम्सेवकहरु कम्तीमा एसएलसी वा एसईई उत्तीर्ण भएको र बाल विकास केन्द्रका सहजकर्ता वा महिला स्वास्थ्य स्वयम्सेविका वा सामुदायिक विकास अध्ययनकर्ता मध्येबाट एक वडामा एक जना रहनेछन् । मतदाता शिक्षा कार्यक्रमसँगै निर्वाचन कार्यालयले मतपेटिकाहरुको सरसफाइ गरेको ।