कार्यक्रममा बोल्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रबिक्रम चन्द (विप्लब)

हेटौँडा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रबिक्रम चन्द (विप्लब) ले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष हुने नदेखिएको बताउनुभएको छ । बिहिबार हेटौँडामा नेकपा माओवादी मकवानपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चन्दले निर्वाचनमा निष्पक्षताको संशय व्यक्त गर्नुभएको हो ।

उहाँले वर्तमान सरकार निष्पक्ष व्यक्तिहरुको नभई राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्धहरुको समूह भएको आरोप लगाउनुभयो । सुशीला कार्की सरकार असंवैधानिक भएको र सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले कब्जा गरेकोदेखि सकिएकोले यो सरकारले गराउने निर्वाचनको औचित्य नरहेको समेत जिकिर गर्नुभएको छ । उहाँले भदौको जेनजी आन्दोलनलाई स्मरण गर्दै यो आन्दोलनको उद्देश्य केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर अन्य व्यक्तिलाई प्रधानमन्त्री मात्र बनाउन बिध्वंश गराएको भए यो कार्य अपराध भएको बताउनुभएको छ ।

आन्दोलनले माग गरेको देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आफ्नो पार्टीको पनि एजेन्डा भएको बताउनुभयो । उहाँले अहिले देशलाई विदेशी शक्तिहरुले खेलमैदान बनाएको प्रति चिन्ता व्यक्त गर्दै नेपाललाई आफु अनुकुल नचलेपछि द्वन्द्वको अवस्थामा ल्याएको आरोप समेत लगाउनुभएको छ । उहाँले आफ्नो दलको संगठन एमाले, काँग्रेस, समाजवादी पार्टी भन्दा सानो भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा विकसित संगठन रहेको दावी गर्नुभयो । उहाँले जेनजीका माग पूरा गर्ने उद्देश्यले निर्वाचनमा भाग लिन लागेको उल्लेख गर्नुहुँदै यसअघि नै अन्य समूहको आन्दोलनबाट जेनजी आन्दोलनका मागहरु लिएर अघि बढे आफ्नो दलले आन्दोलनलाई साथ दिने समेत स्पष्ट पार्नुभएको छ ।