एन्जललाई पुरस्कृत गरिँदै।

हेटौँडा : भीमफेदी निवासी समाजसेवी तथा साहित्यकार सुभाष चन्द्र पौड्यालद्वारा स्थापित ‘तिल गङ्गा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्ति’ यस वर्ष महेन्द्र माध्यमिक विद्यालयकी छात्रा एन्जल घिसिङलाई प्रदान गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच घिसिङलाई नगद २५ हजार ५५५ रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको छ ।

पौड्यालले आमा तिल कुमारी, बुबा गोविन्द पौड्याल र दिदी गङ्गा कुमारीको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषबाट हरेक वर्ष पुरस्कार प्रदान गर्नुहुने छ । छात्रवृत्ति विशेषगरी कक्षा १२ (दश जोड दुई) पुरा गर्ने इमान्दार र अनुशासित, जेहेन्दार तथा अध्ययनशील, विद्यालयको गरिमा उच्च राख्ने एक छात्रालाई छनोट गरी प्रोत्साहन स्वरूप प्रदान गर्ने घोषणा गरिएको छ । छात्रवृत्तिका संस्थापक सुभाष चन्द्र पौड्याल भीमफेदीमै जन्मनुभएको हो । उहाँले महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्नुका साथै करिब साढे दुई वर्ष त्यहाँ अध्यापन समेत गर्नुभएको थियो ।

नेपाल बैंक लिमिटेडमा ३० वर्ष सेवा गरी निवृत्त हुनुभएका पौड्याल लेखन र साहित्यिक क्षेत्रमा पनि संलग्न हुनुहुन्छ । आफ्नो विद्यालय र पितृप्रतिको सम्मान स्वरूप उहाँले यो अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको सभाध्यक्षता तथा पुरस्कार संस्थापक पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार लामाको पनि आतिथ्य रहेको थियो ।