हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा प्रथम खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ । मंगलबार पालिकाले एक सूचना जारी गर्दै खेलकुद विकास समितिको आयोजनामा फागुन १ गते शुक्रबार प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।
दौड फापरबारी चेकपोष्टबाट सुरु भई बागमती–८, शान्तिपुर हुँदै बागमती गाउँपालिकाको कार्यालय, बागमती–४, झुरझुरेमा पुगेर समापन हुनेछ । प्रतियोगितामा १६ वर्ष उमेर पूरा गरेका पुरुषहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता बिहान ८ बजे सुरु हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । सान्त्वनास्वरूप पाँच जनालाई जनही २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।
आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुनेलाई नम्बर अङ्कित टिसर्ट उपलब्ध गराइनेछ भने प्रतियोगितामा सहभागी हुनेले आफू शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त रहेको पुष्टि गर्ने मेडिकल रिपोर्ट वा स्वघोषणापत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले उक्त प्रतियोगिता खेलकुद विकास, स्वास्थ्य प्रवद्र्धन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ । आयोजकले सबैलाई नियमको पालना गर्दै अनुशासित र सुरक्षित रूपमा प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।











