Home मुख्य समाचार बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न

बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न

स्वर्ण महोत्सव समापन समारोहमा स्वागत गीत गाउँदै दृष्टिविहिन विद्यार्थी ।

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव (५०औँ वार्षिकोत्सव) सम्पन्न भएको छ । विद्यालयले माघ १९ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन सुरु गरेको स्वर्ण महोत्सव बुधबार सम्पन्न भएको हो ।

स्वर्ण महोत्सव समापन समारोहको अवसरमा विद्यालयले बुधबार स्वर्ण स्तम्भ अनावरण, स्मारिका लोकार्पण र विद्यालय गीत सार्वजनिक गरेको छ । हेटौँडा–५ का वडाध्यक्ष एवम् विद्यालयका पूर्वविद्यार्थी सुशील घिमिरेले विद्यालय गानको रचना गर्नुभएको हो भने विद्यालयकै शिक्षक राजु सेन्चुरीले विद्यालय गीतमा संगीत दिनुभएको छ ।

विद्यालयले स्वर्ण महोत्सव समापनको अवसरमा विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रनाथ पोखरेलको सभाध्यक्षतामा भएको समापन समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले प्रविधिक शिक्षा भन्दै विद्यार्थीहरुले नैतिकता नै बिर्सिदै गएकोले अब प्रविधि र नैतिकतासँग जोडिएको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । अहिलेको एआईको युगमा सत्य र यथार्थ सूचना दिने शिक्षाको विकास गर्नु प्रदेश सरकारको दायित्व रहेको उहाँको भनाइ छ । अबको पुस्तालाई मागी खाने र ठग्गी खाने होइन गरी खानेतर्फ अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । गणतन्त्रलाई गरिबको शासन भन्नुहुँदै मुख्यमन्त्री बानियाँले वर्तमान संविधान परिमार्जन गर्न आवश्यक भएको बताउनुभयो । विद्यालयले विविध खेलकुद, रक्तदान, साँस्कृतिक तथा कलात्मक कार्यक्रमहरु आयोजना गरी स्वर्ण महोत्सव मनाएको छ ।

समापन समारोहमा बागमती प्रदेश सरकारका समाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँसहित वडाध्यक्षहरुको सहभागिता रहेको थियो । समापन समारोहमा विद्यार्थीले नृत्य, गायन, वाद्यवादन कला प्रस्तुत गरेका थिए । स्वर्ण महोत्सव समापन समारोहमा विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीले स्वागत गीत गाएका थिए । विद्यालयका प्रधानाध्यापक भरत प्रसाद अर्यालले स्वर्ण महोत्सव समारोहमा साथ, सहयोग गर्ने, विविध क्रियाकलापमा सहभागी हुने, विद्यालयलाई सहयोग गर्ने पूर्वविद्यार्थीप्रति आभार व्यक्त गर्नुभएको छ ।

Exit mobile version