माघ १९ गते हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्थापना दिवस मनायो । जिल्लाको पुरानो क्याम्पसले हजारौंलाई उच्च शिक्षाको अवसर प्रदान गरेको छ । स्थापना दिवसको अवसरमा यो वर्ष क्याम्पसले आफ्नै इतिहासको अभिलेखीकरण गर्ने प्रयास गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक एवम् हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्राध्यापक डा. तारालाल श्रेष्ठले क्याम्पसको इतिहासलाई अभिलेखीकरण गर्ने गरी अनुसन्धान सुरु गर्नुभएको छ । वार्षिकोत्सवको अवसरमा श्रेष्ठले मकवानपुर बहुमुखी क्याम्पस र क्याम्पसले यस क्षेत्रको उच्च शिक्षामा गरेको योगदानको सन्दर्भमा गरिएको अनुन्धानको प्रारम्भिक सार प्रस्तुत गर्नुभयो । मकवानपुर क्याम्पसको इतिहास र यसले यस क्षेत्रको उच्च शिक्षामा पारेको प्रभावको विषयमा गरिएको अनुसन्धानको विषयमा रहेर श्रेष्ठसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश :
समाज : तपाईंले मकवानपुर जिल्लाको उच्च शिक्षाको इतिहास र मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुरको उच्च शिक्षामा पु¥याएको योगदानको अनुसन्धान गरिरहनुभएको छ । मकवानपुरको उच्च शिक्षा इतिहासबारे तपाईंले के पाउनुभयो ?
श्रेष्ठ : म मकवानपुरमै जन्मेको र यससँग लामो सम्बन्ध भएकोले यहाँको शिक्षा प्रणालीको राम्रो अवलोकन गर्न सकेको छु । अनुसन्धानले देखायो कि मकवानपुर क्याम्पस स्थापनापछि समुदायको सक्रिय पहलबाट उच्च शिक्षा शुरू भयो । २०३७ सालमा क्याम्पस स्थापना हुँदा स्थानीय नागरिक, व्यापारी र प्रशासनको योगदान धेरै महत्वपूर्ण रह्यो । मकवानपुरको उच्च शिक्षाको इतिहास लामो भए पनि यसको दस्तावेजीकरण भने देखिएन । यो अध्ययनले एउटा महत्वपूर्ण दस्तावेज तयार हुने अपेक्षा गरेको छु ।
समाज : मकवानपुर क्याम्पसको स्थापनापछि क्याम्पसको विकासक्रम कस्तो रहेको पाउनु भयो ?
श्रेष्ठ : शुरुवातमा भवन, कक्षाकोठा र पूर्वाधार कमजोर थिए, तर पहिलो पुस्ताका अभियन्ताहरूको मिहिनेतले विद्यार्थी र प्राध्यापकको संख्या र क्षमतामा वृद्धि भयो । प्रारम्भिक व्यवस्थापनमा अञ्चलाधीश, प्रधानपञ्च र समुदायको योगदान महत्वपूर्ण रह्यो । हामी अध्ययनकै क्रममा छौं । करिब १ वर्षभित्र हामी अध्ययन, अनुसन्धान गरेर मकवानपुरको उच्च शिक्षाको इतिहास, वर्तमान र आगामी सम्भावनाको एउटा चित्र प्रस्तुत गर्नेछौं ।
समाज : पछिल्ला समयको उच्च शिक्षा अवस्था कस्तो देख्नुभयो ?
श्रेष्ठ : पछिल्लो दुई–अढाई दशकमा हेटौँडामा धेरै शैक्षिक गतिविधि बढेको छ । निजी कलेज, स्कूल, विश्वविद्यालयको उपस्थितिले हेटौँडालाई शैक्षिक हव बनाएको छ । तर उच्च शिक्षाको दीगो विकास र अनुसन्धान–आधारित योजना अझै कमजोर छ । नयाँ विषय र कलेजहरू खोलिँदैछ, तर दीर्घकालीन रणनीति स्पष्ट छैन ।
समाज : मकवानपुरको उच्च शिक्षाको भविष्य कस्तो देख्नुहुन्छ ?
श्रेष्ठ : मकवानपुरको उच्च शिक्षा क्षेत्र विकासको चरणमा छ । विद्यार्थी र शिक्षक बढिरहेका छन्, तर दीर्घकालीन योजना र नियमन आवश्यक छ । मकवानपुर क्याम्पसलाई केन्द्र बनाएर अध्ययनले अझ गहिरो अनुसन्धान र समग्र दृष्टिकोण आवश्यक देखाउँछ ।
