Home मुख्य समाचार अख्तियारको ३५ औँ स्थापना दिवस भ्रष्टाचार न्याय र विकास दुबैको साझा शत्रु

अख्तियारको ३५ औँ स्थापना दिवस भ्रष्टाचार न्याय र विकास दुबैको साझा शत्रु

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

हेटौँडा:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ औँ स्थापना दिवस मनाएको छ । ‘सुशासन र समृद्धि, नागरिकको अधिकार भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ आयोगको कार्यालय हेटौँडाले बुधबार एक विशेष समारोहको आयोजना गरी स्थापना दिवस मनाएको हो । नेपाल अधिराज्यको संविधान, २०४७ को भाग १२ बमोजिम वि.सं. २०४७ साल माघ २८ गते आयोग स्थापना भएको दिनलाई स्मरण गर्दै आयोगले हरेक वर्ष माघ २८ गते स्थापना दिवस मनाउँदै आएको छ ।

हेटौँडामा आयोजित समारोहमा बागमती प्रदेश सरकार प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले भ्रष्टाचार न्याय र विकास दुबैको साझा शत्रु भएको बताउनुभयो । उहाँले भ्रष्टाचारलाई क्यान्सर जस्तो घातक रोगको संज्ञा दिनुहुँदै यसको उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो । गत आर्थिक वर्ष २०८१/०८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा विभिन्न माध्यमबाट ३७ हजार २६ वटा उजुरी प्राप्त भएको थियो । जसमध्ये करिब ८० दशमलव २२ प्रतिशत उजुरी फछर्यौट भइसकेको र ७ हजार ३ सय २३ वटा उजुरी चालु आर्थिक वर्षमा सरिएको आयोगले जनाएको छ ।

यसैगरी आयोगको कार्यालय हेटौँडामा गत आर्थिक वर्ष २०८१/०८२ मा कुल २ हजार ७ सय ६६ वटा उजुरी दर्ता भएकोमा ७० दशमलव ४२ प्रतिशत अर्थात १ हजार ९ सय ४८ वटा उजुरी फछर्यौट भएको थियो । आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म ७ सय ३१ वटा मुद्दा फछ्र्यौट भएको छ भने १ हजार ४५ वटा उजुरी छानविनको क्रममा रहेको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा आयोगको कार्यालय हेटौँडामा दर्ता भएका उजुरीहरुमध्ये सबभन्दा बढी संघीय मामिला मन्त्रालय (स्थानीय तह) सँग सम्बन्धित ५३ दशमलव ११ प्रतिशत, शिक्षा (स्थानीय तह) सँग सम्बन्धित १७ दशमलव ०६ प्रतिशत र मधेश प्रदेशका तीन जिल्ला बारा, पर्सा र रौतहटका विभिन्न कार्यालयहरुको १७ दशमलव ३१ प्रतिशत उजुरी दर्ता भएको तथ्याङ्क छ । यसैगरी संघीय निकाय र कार्यालयहरुतर्फ १२ दशमलव ५२ प्रतिशत उजुरी दर्ता भएको आयोगको कार्यालय हेटौँडाले जनाएको छ ।

स्थापना दिवस समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशकी उपसभामुख अपसरा चापागाई, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान र उच्च अदालत पाटन, हेटौँडा इजलासकी न्यायाधीश यमुना भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version