हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० आजबाट सुरु भएको छ । विषम् परिस्थितिमा पनि अनलाइनमार्फत नै साताव्यापी कार्यक्रमको आजबाट सुरुवात भएको हो । आज पहिलो दिन जेसीआई हेटौंडाले खुला बुद्धिचाल कार्यक्रमको आयोजना गरेको छ । आज भएको बुद्धिचाल प्रतियोगितामा देशभरबाट १४० खेलाडीले सहभागी थिए । प्रतियोगिता एघार खेलमा ९ जित, १ बराबरी र १ हारसहित उच्च वरियताका विवेक थिङले उपाधि हात पारेका छन् ।
युवा खेलाडी सुश्रुत दाहाल दोस्रो र मनिष हमाल तेस्रो भएका छन् । राष्ट्रका सबै शीर्ष खेलाडी सहभागी खेलमा २४ विधामा पुरस्कार प्रदान गरिएको छ ।बुद्धिचाल प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा आयोजना भएको हो । कार्यक्रमको उद्घाटन नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा नेपाल बुद्धिचाल संघका सचिव धरम बहादुर लामा, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य तथा मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष माधव तिमल्सिना, जेसीआई हेटौंडाका अध्यक्ष राजदेव बनियाँ र सभाध्यक्ष कार्यक्रम संयोजक बिकेश लाल श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बुद्धिचाल संघका तर्फबाट महासचिव हेराकाजी महर्जन सदस्यद्वय भूपेन्द्र निरौला र बिनोद बिश्वकर्मा, बागमती प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष नरेन्द्र भण्डारी लगायत जेसीआई हेटौंडाका पूर्व अध्यक्ष अरुण कुमार दाहालको पनि उपस्थिति रहेको थियो । जुम एप्लिेकसनमार्फत अनलाइन प्रतियोगिताको आयोजना गरिएको हो । जेसीआई हेटौंडाले सातदिनसम्म विविध कार्यक्रमको आयोजना गरेर जेसीज सप्ताह २०२० मनाउँदैछ ।