हेटौंडाः संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) जिल्ला कार्यसमिति मकवानपुर र इस्टु हेटौंडा उपमहानगर कमिटीले आज संयुक्त छलफल गर्दैछ । आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरले शिक्षकहरुलाई भदौ महिनाबाट तलब सुविधा दिन नसक्ने भनेर प्रेस विज्ञप्ति जारी गरेको विषयलाई लिएर छलफल भएको इस्टु नगर समितिका अध्यक्ष सिएम रिमालले जानकारी दिनुभयो ।
यसअघि इस्टु मकवानपुर र हेटौंडा उपमहानगर समितिले शिक्षकको पारिश्रमिक उपलब्ध गराउन स्थानीय तहदेखि बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलसम्मलाई ज्ञापनपत्र बुझाएको थियो । विद्यालयहरुले गत चैत्रसम्मको अनिवार्य पारिश्रमिक उपलब्ध गराएपनि चालु वर्षको शैक्षिक सत्र भदौदेखि तलब सुविधा उपलब्ध गराउन नसक्ने बताएको छ । यस्तै इस्टुले यस विषयमा आज जिल्ला कार्यसमिति र नगर कार्यसमितिले छलफल गरेर निर्णय सार्वजनिक गर्ने भएको छ । यद्यपि शिक्षण गतिविधिमा भने कुनै असर नपर्ने इस्टु नगर समितिका अध्यक्ष रिमालले बताउनुभयो । उहाँले आपूm पनि शिक्षक भएको भन्दै शिक्षकको तहबाट सोँच्दा अहिले तलब सतप्रतिशत नभएर केही प्रतिशत शिक्षकलाई उपलब्ध गराउने र पछि विद्यार्थीहरुको शुल्क उठेपछि शिक्षकहरुलाई उपलब्ध गराउँदा समस्या समाधान हुने बताउनुभयो ।