रामेछाप : रामेछाप जिल्लाको रामेछापको मन्थली नगरपालिका–६ लिलौटीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ । मंगलबार बिहान ११ बजेको समयमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५–९९७५ नम्बरको अरनि यातायातको बस तामाकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
बसमा १३ जना चढेको भनिए पनि झन्डै २० जना रहेका अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अहिलेसम्म मृतक ७ जनाको पहिचान खुलेको छ भने बाँकीको पहिचान खुल्न बाँकी रहेको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका–४, बिजुलीकोटका २९ वर्षीय बबी तामाङ, ३० वर्षिय दिपेश बस्नेत र २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ३५ वर्षीया सानुमाया तामाङ, २१ वर्षीया तारा तामाङ, दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ र गोलञ्जोर गाउँपालिका–६ का २४ वर्षीय शिव श्रेष्ठ रहेको पुष्टि भएको छ ।
मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मन्थली र खुर्कोटका विभिन्न अस्पतालमा पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय रामेछाप अनुसार घटनास्थलमा अहिले गोताखोरको टोलीले उद्धारको काम गरिरहको छ ।










