हेटौँडा : जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हुन लागेको दोस्रो वृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव स्थगित भएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचन अचारसंहिता र सुरक्षा व्यवस्थाका कारण महोत्सव स्थगित गरिएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभयो ।

अध्यक्ष मोक्तानका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा स्थगित गरिएको महोत्सव अगामी फागुन २९ गतेदेखि चैत्र १४ गतेसम्म सञ्चालन हुनेछ । यसअघि समितिले फागुन २ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो ।

हेटौँडा–१० स्थित टिसिएन चौरमा महोत्सव हुने अध्यक्ष मोक्तानले बताउनुभयो । महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, तेक्वान्दो, जिल्लास्तरीय व्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा १० किलोमिटर दौड प्रतियोगिता हुनेछ ।