हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकिएका तर फरार रहेका प्रतिवादीहरूलाई खोजीको क्रममा फेला पारी आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरूमा चोरी मुद्दामा १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय पाएका हेटौँडा उपमहानगरपालिका–१६ का ३९ वर्षीय रवि नगरकोटी, लागूऔषध मुद्दामा ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय पाएका हेटौँडा–१० का शनि रानाभाट पक्राउ परेका छन् । यस्तै बहु विवाह मुद्दामा १ वर्ष कैद र ४ हजार रुपैयाँ जरिवाना सजाय पाएका मनहरी गाउँपालिका–१ का ३२ वर्षीय प्रेम बहादुर जोगी, बैंकिङ कसुरमा १ महिना कैद र २५ लाख रुपैयाँ जरिवाना सजाय पाएका बागमती गाउँपालिका–७ का ३८ वर्षीय अमर खड्का मगर, सालको काठ चिरान मुद्दामा ४–४ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय पाएका बागमती गाउँपालिका–२ का उद्धव बहादुर राई र मकवानपुरगढी गाउँपालिका–३ का अजय सिंह सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले केहिदिन देखि फरार प्रतिवादीको खोजी कार्यलाई निरन्तरता दिइने जनाएको छ ।










