हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनस्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको लागूऔषध विरुद्धको ३ महिने अभियान अन्तर्गत बागमती गाउँपालिकामा विभिन्न जनचेतनामूलक तथा संस्थागत कार्यक्रमहरू सम्पन्न भएका छन् । गाउँपालिका अध्यक्ष सर्केश घलानज्यूको प्रमुख आतिथ्य तथा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको विशेष आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सरकारलाई लागूऔषध नियन्त्रण मार्गदर्शन २०७६ अनुसार समिति तत्काल गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाले आवश्यक बजेट विनियोजन, नीतिगत व्यवस्था, कार्यक्रम निर्माण तथा समन्वयात्मक भूमिकाबाट अभियानलाई थप सशक्त बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
यसैक्रममा बागमती गाउँपालिका–५ स्थित देवकी माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । वडा अध्यक्ष विजय घलानको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापा मगरको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षकहरू, रिकभरिङ महासंघका प्रतिनिधिहरू तथा सिआन पुनस्र्थापना केन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कक्षा ७, ८ र ९ का करिब ९० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा लागूऔषध दुव्र्यसनको असर, रोकथाम तथा जीवन सीपसम्बन्धी सचेतना प्रदान गरिएको थियो ।
अभियानलाई थप प्रभावकारी बनाउन गाउँपालिका परिसर अगाडि मुख्य चोकमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ । विद्यालय बाहिर धुमपान निषेधित क्षेत्रसम्बन्धी बोर्ड राखिनुका साथै पालिकाका मुख्य बजार क्षेत्रहरूमा सन्देशमूलक पर्चा वितरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । समुदाय, विद्यालय तथा स्थानीय सरकारबीचको सहकार्यमा सञ्चालन भइरहेको यो अभियानले बागमती गाउँपालिकामा लागूऔषध विरुद्ध सशक्त जनआन्दोलनको आधार निर्माण गर्ने विश्वास लिइएको छ ।
